साइनिङ अस्पताल सल्लाहाकार समितिको बैठक सम्पन्न
Wednesday, November 25th, 2026, 8:47 pm
Kalpristha
पहल केसी
नेपालगन्ज, ९ मंसिर
साइनिङ अस्पताल आइएनएफ नेपाल बाँकेको सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा एक भव्य कार्यक्रम गरी विभिन्न सरोकारवालाहरूको सहभागितामा बैठक सम्पन्न भएको हो । साइनिङ अस्पताल नेपालगञ्जका प्रमुख मङ्गल बहादुर थारुले बैठकमा अस्पतालले गरेका प्रगति विवरणहरू सार्वजनिक गर्नु भएको थियो । छलफलमा विभिन्न सल्लाह सुझाव सहित आगामी दिनहरूमा सबैले हातेमालो गर्ने सहमति भएको छ ।
कुष्ठरोग निवारणमा आइएनएफले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बैठकमा नेपालको अस्पताल दर्ता तथा सञ्चालन निर्देशिका स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ मा कुष्ट रोग अस्पताल क्षयरोग अस्पताल जस्ता विशिष्ट सेवा प्रदान गर्ने अस्पतालहरूको दर्ता र नवीकरणको लागि स्पष्ट व्यवस्था नभएका कारण सबैसँग आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख थारुले स्थानीय तह र प्रदेशमा धेरै पटक फाइल पेश गरेको बताए । उनले अस्पताल दर्ता र नवीकरणको लागि धेरै दुःख पाएको गुनासो गरे ।
अस्पतालले स्थानीय सरकार प्रदेश र संघ सरकारसँग समन्वय गरी विभिन्न जिल्लाहरूमा समन्वयकारी भूमिकामा आफ्ना कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । गत आर्थिक वर्षमा सात स्थानमा कुष्ठरो खोज तथा अभियान शिविर सञ्चालन गरिएको थियो । जसमा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । गत आर्थिक वर्ष २०८२÷ ८३ मा गरिएको नयाँ सर्वेक्षण अनुसार १ सय ९३ जना कुष्ठरोगीका नयाँ बिरामीहरू पत्ता लागेका छन् । सैनिक अस्पताल मानपुर खजुरा रोडमा रहेको अस्पतालमा बाँके, बर्दिया, दैलेख, दाङ, डोल्पा, रुकुम पश्चिम जाजरकोट कालिकोट प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर, अछाम, बझाङ र भारत गरी जम्मा १४८ जना भर्ना भई सेवा लिएका छन् ।
कुल अस्पताल सैया २५ रहेको छ भने १ सय ४८ जना भर्ना भएका हुन् । अस्पतालको सैया प्रयोगदर ५१ प्रतिसत रहेको छ । औसत बसाई अवधि २९ दिन रहेको छ । उपचारपछि डिस्चार्ज भई घर गएको संख्या १ सय ५६ देखिएको छ । प्रस्तुत प्रतिवेदन अनुसार अस्पतालले अन्तरङ्ग सेवामा १ सय ४८ जनामा पुरुष १ सय ६ र महिला ४२ जनालाई भर्ना गरी सेवा प्रदान गरेको थियो । बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सुनिता कार्की, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नाल, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक ढकाल, जानकी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अन्सारी, स्वास्थ्य शाखा प्रमुख दलबहादुर राणा, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेल, जिल्ला कुष्ठरोग फोकल पर्सन मानव नेपाली लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अस्पतालको आर्थिक गतिविधि लेखा अधिकृत लोकेन्द्र रोका क्षेत्रीले प्रस्तुत गरेका थिए ।