राधापुरका भुमिहिनलाई निस्सा वितरण
Sunday, July 20th, 2025, 8:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ४ साउन
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ मा नाप नक्साको निस्सा वितरण सुरु गरिएको छ । वडाले २०७७ सालमा गरिएको सर्वेक्षणमा आवेदन दिएका भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासका व्यक्तिहरुलाई नाप नक्साको निस्सा वितरण गर्न सुरु गरेको हो ।
राधापुर स्थित वडा कार्यालयमा भएको कार्यक्रममा वडा सदस्य, स्थानीय राजनिति दलका प्रतिनिधिहरुको उपस्थितीमा वडा अध्यक्ष मनवीर क्षेत्रीले निस्सा कागजात प्रदान गर्नु भएकोथियो । यो सँगै अब वडामा निस्साको कागजात पाएकाहरुको जग्गा नापजाच गरी लालपुर्जा वितरण गर्ने कार्य अगाडी बढनेछ् ।
भुमिहिनहरुलाई छिटै लालपुर्जा वितरणको लागि काम भैरहेको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘राज्यले भुमिहिनहरुलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । त्यस अन्तर्गत आज हामीले यो कार्यक्रम गरेका हौं । यो महत्वपुर्ण कार्यक्रममा सबै राजनिति दलका प्रतिनिधिहरुको उपस्थितीमा निस्सा वितरण गर्न पाउनु खुसीको कुरा हो । छिटै लालपुर्जा वितरण गर्नमा हामी लागिरहेको छौं ।’
२०७७ सालमा भएको सर्वेक्षणमा निवेदन दिएकाहरुबाट छनोट गरेर २ सय ७४ जनालाई निस्सा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । त्यतिबेला २ सय ८१ जनाले आवेदन दिनु भएको थियो।
कार्यालयबाट प्राप्त पत्र अनुसार खजुराको १ नम्बर वडामा १९ जना भुमिहिन दलित, ४५ जना भुमिहिन सुकुम्वासी र २ सय १० जना अव्यवस्थित बसोबास गर्नेलाई निस्सा वितरण गरिएको छ ।