बोर्डबाटै नेतृत्वलाई असहयोग गर्ने प्रयास गरियो: अध्यक्ष मल्ल
Tuesday, August 5th, 2025, 9:12 pm
Kalpristha
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
भिष्म लोध
खजुरा, २० साउन
बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले एक वर्षको उपलब्धी सार्वजनिक गरेको छ । अस्पताल विकास समितिले मंगलबार पत्रकारहरुबीच एक वर्षको उपलब्धी सार्वजनिक गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले अस्पताल विकास समितिलाईसदस्यहरुबाट नै असहयोग भएपनि आफुहरुले आफ्नो जिम्मेवारी पुरा गर्न हरसम्भव प्रयास गरिएको बताउनुभयो ।
‘समितिका सदस्यहरुबाटै काम कारवाहीमा असहयोग भइरहेको छ,’ अध्यक्ष मल्लले भन्नुभयो, ‘तर पनि समितिका अन्य सदस्यहरु जसले आफ्नो जिम्मेवारीलाई बुझ्नुभएको छ उहाँहरुको साथमा भूमिका प्रभावकारी बनाउन प्रयासरत छौं ।’
अध्यक्ष मल्लले अस्पतालको मातृसंस्था प्रखर परोपकार मिसन नेपालबाट प्रतिनिधित्व गर्ने विकास समितिका सदस्यहरुले काम गर्न अवरोध गरेको आरोप लगाउनुभयो । अध्यक्ष नियुक्त भएदेखि हालसम्म ३ वर्षको कार्यकालमा १५ वटा मात्र बैठक बस्न सकेको उल्लेख गर्दै राजनीतिक नियुक्तिबाट पाउने पीडा आफुले अनुभूत गरेको उहाँले बताउनुभयो । ‘यद्दपी सदस्यहरुको असहयोगकाबीच आफ्नो कार्यकालमा अस्पतालले ठुलो प्रगति गरेको छ ।,’ उहाँले भन्नुभयो ।
अस्पतालद्वारा २०७९ भदौ २३ गतेको निर्णय अनुसार क्यान्सरको उपचारको क्रममा नेपाल सरकार, लुम्बिनी पदेश सरकार र स्वास्थ्य विभागबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीहरुलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५०% अस्पताल विकास समितिले व्यहोर्ने गरी छुट प्रदान गरिएको छ ।
पश्चिम नेपालकै पहिलो पोर्जेटिन प्रेर आइ सि इयू बिस्तार गरेर संचालनमा ल्याएको छ भने पश्चिमै पहिलो लिन्याक मेसिनमार्फत रेडियोथेरापी सेवा प्रदान गर्न सफल भएको अध्यक्ष मल्लले बताउनुभयो । उहाँका अनुसार सेवा विस्तारसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि बढेको छ ।
अस्पतालमा रहेको तथ्याँक अनुसार आर्थिक वर्ष ०७८-०७९ मा २५ हजार १८१ जना जनरलसहित सेवा लिएका छन् भने पछिल्लो आर्थिक वर्ष ०७९ देखि २०८२ साउनसम्म बढेर सेवा लिनेको संख्या वृद्धि भएर एक लाख ४३ हजार ३३४ जना पुगेका छन् ।
अध्यक्ष मल्लले पछिल्लो वर्ष सेवा लिएकामध्ये ५२ हजार ७९३ जनामा क्यान्सर रोग पुष्टि भएको र सेवा लिइरहेको जानकारी दिनुभयो । अस्पतालले बिरामीहरुका लागि भनेर एक एक थान सुविधा सम्पन्न एम्बुलेन्स संचालनमा ल्याएको छ ।
यस्तै रक्त क्यान्सरको विरामीका लागि छुट्टै हेमोटो अंकोलोजी वार्ड निर्माण गरेर संचालनमा ल्याइएको छ भने विरामीको सेवालाई सहजर प्रभावकारी बनाउनका लागि अस्पताललाई ५५ वेडबाट ९५ वेड विस्तार गरिएको समितिले जनाएको छ । यसअघि यहाँ आउने बिरामीले रगतका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यतालाई सहज बनाउनका लागि अस्पतालमै रक्त संचार केन्द्र पनि यसै वर्षबाट संचालन गरिएको छ । स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सम्भवत पश्चिम नेपालकै पहिलो अफेरेसिस मेसिनमार्फत सेवा प्रदान गरिएको छ ।
चौबिसै घण्टा ल्याब एक्सरे सेवा, फोक्सो, कलेजी, मृगौला, ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु टार्गेटेड थेरपी निःशुल्क उपलब्ध प्रदान गरेको अस्पताललाई द म्याक्स फाउण्डेशनले विभिन्न ६ प्रकारका क्यान्सरका औषधीहरु यस अस्पताललाई निःशुल्क उपलब्ध गराउने जनाएको छ । लायन्स क्लब सँगको सहकार्यमा हस्पीस एण्ड पल्लीयटिभ केयर भवन निर्माण, अस्पतालमा थप नयाँ १२८ स्लाइस सिटी स्क्यान मेसिन गरी संचालन गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।
यसैगरी अस्पतालमा नयाँ डि एक्सरे मेसिन जडान, यूएसएडको सहयोगमा लिक्विड अक्सिजन ट्याँक जडान, र विद्युत समाधान समाधानका लागि हजार केभिए को ट्रान्सफर्मर खरिद गरेर डेडिकेडेट ट्रकलाइन जडान गरिएको छ भने पोस्ट अपरेटिभ वार्ड तथा पेडियार्टिक अंकोलोजि वार्ड निर्माण गरेर सूचना र मर्टअरी कक्ष निर्माण गरी संचालन गरेको अध्यक्ष मल्लले जानकारी गराउनुभयो ।
यसका साथै अस्पतालमा ल्याब तथा फामेर्सि प्रिफ्याक भवन निर्माण, सुविधा सम्पन्न चमेना गृह निर्माण गरी संचालन र सुरक्षाको दृष्टीले संवेदनशिल क्षेत्र भएकोले अस्पताल परिसरमा गाउँपालिकाको समन्वयमा हाई मास्ट लाइट जडा गरिएको छ ।
अध्यक्ष मलले भन्नुभयो, ‘हामीले धेरै सकारात्मक कार्यलाई अगाडी बढाउने क्रममा गरिब, असहाय तथा विपन्न बिरामीहरुका लागि निःशुल्क उपचार एवम् १० प्रतिशत बेड छुट्याइएको छ ।

……….
नेपाल सरकारबाट अधिल्ला आर्थिक वर्षहरुमा प्राप्त हुँदै आइरहेको बजेट (६ करोड पुँजीगत र ४ करोड चालु खर्च) यस आ.व.०८०-८१ का लागि वृद्धि भई (१० करोड चालु १७ करोड पुँजीगत तर्फ खर्च गरी कुल २७ करोड) बजेट बिनियोजन भएको छ । आ.व. २०८१-०८२ का लागि १८ करोड ८६ लाख (१० करोड चालु र ८ करोड ८६ लाख पुजिगत तर्फ) विनियोजन भएको र आ.व. २०८२-२०८३ का लागि १५ करोड विनियोजन गरिएको छ ।’
यस अस्पतालमा बाल क्यान्सर रोगको उपचार सेवा, अतिरिक्त अस्पताल सेवा संचालन, विरामीको सहजताका लागि टोकन मेसिन जडान गरी टोकन प्रणाली संचालन, स्तन क्यान्सर भएका विरामीको शल्यक्रिया विकल्प पुनः निर्माण सेवा सुचारू गरिएको अस्पतालका अध्यक्ष मल्लले दाबी गर्नुभयो ।
हाल अस्पतालले आधुनिक उपकरणसहितका आइ सि इयू, इमरजेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्राकिथेरापी, सिटी स्क्यान, म्यामोग्राफी सेवा प्रवाह गर्दै आएको जनाएको छ । अस्पतालले गरिब, असहाय तथा विपन्न विरामीहरुका लागि १०% जनरल बेड निःशुल्क गरेको छ भने कार्यरत कर्मचारीका लागि ओपिडी सेवा निःशुल्क तथा उपचार सेवामा ५०% छुटको व्यवस्था प्रदान गर्दै आएको छ ।
अध्यक्ष मल्लले अस्पताललाई आवश्यक जनशक्ति सरकारले दिन नसकेको उल्लेख गर्दै ओएनएम सर्वेले सिफारिस गरेको जनशक्ति मन्त्रालयले ब्यवस्थापन गर्न माग गर्नुभयो ।अस्पतालमा हाल २१ जना विशेषज्ञ चिकित्सक, ११ जना मेडिकल अफिसरसहित १६१ जना अस्थायी, करार र दैनीक ज्यालादारी कर्मचारी रहेका छन् ।