चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः रामचन्द्र पौडेल
Sunday, March 15th, 2026, 7:35 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगञ्ज, १ चैत
चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले आइतबार तेस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघका केन्द्रीय अध्यक्ष समिर बलामीको उपस्थितीमा सम्पन्न अधिवेशनबाट रामचन्द्र पौडेल पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
संघको उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचिवमा लक्ष्मी तिमिल्सेना, सहसचिवमा रजनी योगी, कोषाध्यक्षमा अमृता जैसी चयन हुनुभएको हो । सदस्यहरुमा रामप्रसाद आचार्य, सावित्री विश्वकर्मा, महोम्मद जावेद हलवाई, गणेश राई, सौरभ राना, मनिषा खत्री चयन हुनु भयो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष समिर बलामीले २०४९ सालमा केन्द्रिय समिती गठन गर्दाको परिबेश स्मरण गर्दै चलचित्र पत्रकार संघ अन्य बिधागत संघ भन्दा धेरै शाखाहरु भएको संगठन भएको बताउनुभयो ।
पछिल्लो समम बिशेषगरि चलचित्र पत्रकारले पत्रकारिता भन्दा बिज्ञापनकारिता अझ बढी देखिने गरेको भन्दै उहाँले भन्नुभयो, ‘हामिले चलचित्रलाई मात्र भन्दापनि मनोरन्जन, कला साहित्य, नाटक रंगमञ्च लगाएतको नेतृत्व गर्नुपर्छ । अहिले डिजिटल मिडियाले पत्रकारिता चुनौतीपूर्ण बनाएको छ । कुनै समय थियो पत्रकारिताले समाजलाई डो¥याएको थियो । पत्रकारिताबाट हरेक कुराको जानकारी लिईन्थ्यो भने अहिले सामाजिक संजालले समाज चलाएको छ । यस्तो अवस्थामा हामिले बिधागत पत्रकारितालाई बचाउन र जोगाउन सक्नुपर्छ ।’
त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईंले बाँके शाखाले चलचित्र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले बाँकेमा कलाकारिता क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूको खोजी र दस्तावेजीकरणमा पनि जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नेपालगन्जमा नेपाली चलचित्रप्रति आम नागरिकको चासो दिनानुदिन बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो,‘चलचित्र समाजको एउटा गतिशील बिम्ब हो, त्यसैले सो क्षेत्रमा रहेर काम गर्ने पत्रकार संवेदनशील हुनुपर्छ ।’
उहाँका अनुसार चलचित्र बिटमा काम गर्ने पत्रकारको लेखनको स्तर अझ फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको छ । चलचित्र प्रदर्शनका समयमा तथा प्रदर्शनपछि समिक्षात्मक ढंगले पत्रकारिता गर्न सकिए समाजलाई सकारात्मक रूपमा लाभ पुग्ने उहाँको भनाई थियो ।
अधिवेशनमा शाखाका सल्लाहकार कमल खत्री, करुणा शाह (महारानी), क्रियाशिल महिला पत्रकार समुह बाँकेकी उपाध्यक्ष विमला चौधरी र पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतम लगायत विशिष्ट पत्रकारहरूको उपस्थिति रहेको थियो ।