प्रथम यु–२० (९–ए साईड) फुटबल जेठ १४ देखि सुरु हुँदैं
Tuesday, May 26th, 2026, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ १२ गते
धम्बोझी क्लबको आयोजनामा प्रथम यु–२० (९–ए साईड) फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १४ देखि सुरु हुने आयोजकले जनाएको छ । जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका नेपालगन्ज धम्बोझीका दुई युवा ईन्जिनियर सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको धम्बोझी क्लबका अध्यक्ष तारामान कुंवरले बताउनु भयो ।
प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ विशाल चोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले बताउनु भयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा क्लबका वरिष्ट उपाध्यक्ष राजु थापा, उपाध्यक्षद्धय हेमन्त राज शाक्य, प्रकाश कुँवर, सचिव विरेन्द्र राना, पुर्व चन्द्र थापा मगर, राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक रविन्द्र कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
जेन्जी युवाहरुले देशमा सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणको माग राख्दै गरेको आन्दोलनमा सहिद भएका युवाहरुको सम्झनामा गर्न लागिएको प्रतियोगिताले युवा खेलाडीलाई प्राथमिकता दिएको अध्यक्ष कुँवरले बताउनु भयो । उहाँले भन्नु भयो, ‘युवा खेलाडीलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसले नयाँ खेलाडीलाई आफनो प्रतिभा देखाउन अवसर प्रदान गर्नेछ ।’
नेपाली खेलकुदमा धम्बोझी क्लबले महत्वपुर्ण सफलता हासिल गरेको इतिहासलाई स्मरण गर्दै अध्यक्ष कुँवरले प्रतियोगिताले बाँकेको फुटबल विकासमा पनि सहयोग गर्ने बताउनु भयो । प्रतियोगिताको तयारीलाई तिव्र गतिमा अगाडी बढाईरहेको क्लबका उपाध्यक्ष प्रकाश कुँवरले बताउनु भयो । प्रतियोगिता आयोजना गर्नको लागि न्यु होटेल इन्द्रेणीका संचालक एवम् नेपालगन्ज–११ क्लबका अध्यक्ष घनश्याम थापाले एक लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष कुँवरले बताउनु भयो ।