ब्रदर्श एफसी, धम्बोझी र सगरमाथा विजयी
Sunday, May 31st, 2026, 9:33 pm
Kalpristha
गणेश राई
नेपालगन्ज, जेठ १७ गते
ब्रदर्श एफसी, आयोजक धम्बोझी क्लब र सगरमाथा स्कुलले आइतबार प्रथम यु–२०(नाइन–ए साईड) फुटबल प्रतियोगितामा सफलता हासिल गरेका छन् । जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका नेपालगन्ज धम्बोझीका दुई युवा ईन्जिनियर सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा भैरहेको प्रतियोगिता अन्तर्गत ब्रदर्शले रोलिङ लायन ‘ए’ लाई ३–० ले पराजित गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ विशाल चोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा भैरहेको खेलमा ब्रदर्शको लागि म्यान अफ द म्याच रविन्द्र अधिकारीले आठौं मिनेटमा सुरुआत गोल गर्नु भएको थियो । त्यस्तै ब्रदर्शका विधान विकले १२औं र सैलेन्द्र विसीले २३औं मिनेटमा गोल गर्नु भयो । अर्को खेलमा धम्बोझीले अमरज्योती एफसीलाई ५–० ले पराजित गरेको छ ।
महेश बुढाथोकीले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार गोल गर्नु भयो । म्यान अफ द म्याच महेशले दुई मिनेटमा सुरुआतमा गोल गरेपछि दोस्रो गोल सातौ मिनेटमा गर्नु भयो । त्यसपछि १०औं र २७औं गोल गर्दै जारी प्रतियोगितामा एकै खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ । त्यस्तै धम्बोझीका रोयल पुनले पाँचौ मिनेटमा गोल गर्नु भएको थियो ।
अर्को खेलमा सगरमाथाले युनाइटेड स्कुललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा सगरमाथाका लागि तुषार विसी र मनोज परियारले गोल गर्नु भयो भने युनाइटेडका लागि दिलिप थापा र सुदिप विकले गोल गर्नु भएको थियो । प्रतियोगिता अन्तर्गत नवज्योती युवा क्लब र नेपालगन्ज मोडेल एकेडेमी बिचको खेलमा विवादका कारण स्थगित भएको छ ।
धम्बोझी क्लबको आयोजनामा भैरहेको प्रतियोगिता जेठ २१ गते सम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले बताउनु भयो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजक धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले बताउनु भयो ।