आयुर्वेद सेवाबारे भ्रांमक प्रचारलाई रोक्न सक्रिय हुँदैं स्वास्थ्यकर्मी
Wednesday, November 4th, 2026, 8:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ कात्तिक
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज बाँकेले आयुर्वेद उपचार तथा सेवाका नाममा भइरहेको भ्रामक प्रचारप्रसार र तथ्यहीन सूचनाको प्रवाह रोक्न सक्रिय पहल गर्ने निर्णय गरेको छ । समाजको नवनिर्वाचित जिल्ला कार्यसमितिको प्रथम बैठकले आयुर्वेदको वास्तविक महत्व, उपचार पद्धति र सेवाबारे आम नागरिकलाई सही सूचना प्रवाह गर्दै भ्रमपूर्ण प्रचारप्रसार नियन्त्रणको लागि योजनाबद्ध रूपमा काम गर्ने निर्णय गरेको हो ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज बाँकेका नवनिर्वाचित अध्यक्ष किरण खनालको अध्यक्षतामा मंगलबार नेपालगन्जमा बसेको बैठकले आयुर्वेद उपचारका नाममा विभिन्न व्यक्ति तथा संस्थाले गर्ने गरेका अवैज्ञानिक, अतिरञ्जित र तथ्यहीन प्रचार–प्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाहीको लागि पहल गर्ने निर्णय गरेको अध्यक्ष खनालले कालपृष्ठ दैनिकलाई बताउनु भयो ।
पछिल्लो समय आयुर्वेद औषधि तथा उपचार सेवाको प्रचारप्रसार गर्ने क्रममा ‘ग्यारेन्टीका साथ उपचार’, ‘सतप्रतिशत बिरामी निको हुने’, ‘निको नभए पैसा फिर्ता’ जस्ता दाबी गर्दै सर्वसाधारणलाई आकर्षित गर्ने सुचनाहरु बढ्दै गएको भन्दै समाजले चिन्ता व्यक्त गरेको छ । त्यसैगरी अनलाइन मार्केटिङ, विभिन्न स्थानमा ठूलो आवाजमा माइकिङ गरी आयुर्वेदजन्य औषधिको बिक्रीवितरण गर्ने तथा उपचारको विषयमा अतिरञ्जित दाबी गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने बैठकको निष्कर्ष छ ।
यस्ता भ्रामक प्रचारप्रसारले आयुर्वेद उपचार पद्धतिप्रति आम नागरिकमा गलत बुझाइ सिर्जना गर्नुका साथै वास्तविक र वैज्ञानिक आधारमा प्रदान गरिने आयुर्वेद स्वास्थ्य सेवाको विश्वसनीयतामा समेत असर पार्न सक्ने भएकोले त्यस्ता गतिविधिलाई रोक्न पहल गर्ने तयारी गरेको अध्यक्ष खनालले बताउनु भयो ।
तथ्यहीन प्रचार गर्ने व्यक्ति तथा संस्थाको गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराई आवश्यक छानबिन तथा कानुनी कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरिएको अध्यक्ष खनालले बताउनुभयो ।
समाजले आयुर्वेद स्वास्थ्य सेवाको वास्तविक अवस्था, महत्व, उपयोगिता र उपचार पद्धतिबारे आम नागरिकलाई सही जानकारी उपलब्ध गराउन संस्थागत रूपमा अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि स्थानीय तह, स्वास्थ्यसँग सम्बन्धित सरकारी निकाय तथा अन्य सरोकारवाला संस्थासँग सहकार्य र समन्वय गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
बैठकले आयुर्वेद स्वास्थ्य सेवाको पहुँचलाई स्थानीयस्तरसम्म विस्तार गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । आयुर्वेद सेवाबारे नागरिकलाई जानकारी दिन पालिका स्तरमा सूचना तथा प्रचारप्रसार सामग्री उत्पादन गर्ने, आवश्यकताअनुसार होडिङ बोर्ड निर्माण गर्ने र स्थानीयस्तरमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना बैठकले अघि सारेको छ ।

…..
यसैगरी आयुर्वेद स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरी पालिकास्तरमा उपलब्ध सेवा, जनशक्ति तथा आवश्यकताका आधारमा कार्यक्रम विस्तार गर्दै लैजाने निर्णय गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।
समाजको संस्थागत विकास र नियमित गतिविधि सञ्चालनका लागि बैठकले आन्तरिक आर्थिक कोष निर्माण गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि कार्यसमितिका सदस्यहरूबाट मासिक लेबी संकलन गरिनेछ । संस्थाको कामलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक महिनाको तेस्रो सातामा जिल्ला कार्यसमितिको नियमित बैठक बस्ने निर्णयसमेत गरिएको छ ।
करिब एक महिनाअघि नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज बाँकेको नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले पहिलो बैठकबाटै आयुर्वेद सेवाको गुणस्तर अभिवृद्धि, गलत प्रचारप्रसार नियन्त्रण, नागरिकमा जनचेतना विस्तार तथा स्थानीय तहसम्म आयुर्वेद सेवाको पहुँच बढाउने विषयलाई प्राथमिकतामा राखेको छ ।
समाजको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमित्रा थापा, सचिवमा राशन शर्मा र कोषाध्यक्षमा अन्जना थारु निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा लीला कुमारी विष्ट, सिताराम चौधरी, उर्मिला थारु, लक्ष्य बहादुर विक, जय मंगल प्रसाद पटेल, पवित्रा पोख्रेल र मन्जु रावत रहनुभएको छ । समाजको सल्लाहकारमा डा. गीता रेग्मी रहनुभएको छ ।
समाजले आयुर्वेद उपचार पद्धतिप्रति जनविश्वास अभिवृद्धि गर्न सही सूचना प्रवाह, गुणस्तरीय सेवा र जिम्मेवार प्रचारप्रसारलाई प्राथमिकता दिने जनाएको छ । जिल्लामा आयुर्वेद स्वास्थ्य सेवाको प्रभावकारी विस्तारको लागि स्थानीय सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने समाजको योजना रहेको अध्यक्ष खनालले बताउनु भयो ।