मलेसियाबाट विश्वकप फुटबलमा सट्टेवाज गर्ने ३३१ जना प्रक्राउ
Tuesday, June 30th, 2026, 3:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ असार
पछिल्लो समय फुटबल र क्रिकेट अन्तराष्ट्रिय प्रतियोगितामा हुने गरेको सट्टेवाजलाई रोक्नु प्रहरीको लागि चुनौति बनिरहेको छ । तर मलेसियन प्रहरीले हालै जारी सन् २०२६ को फिफा विश्व कप फुटबलसँग सम्बन्धित अवैध सट्टेवाजमा संलग्न भएको आरोपमा ३ सय ३१ जनालाई प्रक्राउ गरेको छ । दस्टारडटकमाई अनलाईनका अनुसार प्रहरीले फुटबलको नाममा अवैध कारोबार गर्ने र सट्टेवाज गर्नेलाई प्रक्राउ गर्ने अभियान अनुसार २ सय ९३ वटा स्थानमा छापा मारेको थियो । त्यसमा २.६२ मिलियन भन्दा बढी मलेसियाली रिङ्गिट बराबरको अवैध सट्टेवाज कारोबार गरेको फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये ३ सय १२ पुरुष र १९ महिला छन् । त्यसमा २ सय ३४ मलेसियाली नागरिक छन भने ९७ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले ‘ओप सोगा एक्सआई’ नामक अभियान अन्तर्गत जुन ११ देखि जुलाई १९ सम्म संचालन गरेको थियो । अनुसन्धानका क्रममा सट्टेवाज र अवैध जुवाको प्रचारको लागि प्रयोग भएका १ सय ८५ वटा वेवसाईट, एप र सामाजिक संजाल खाता पहिचान गरिएको छ, जसलाई बन्द गराउन सम्बन्धित निकायसँग सहकार्य भैरहेको प्रहरीले जनाएको छ ।
नेपाली अनलाईन रातोपाटी र विदेशी अनलाईन एजेन्सीले जनाए अनुसार पक्राउ परेका व्यक्तिहरुबाट ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा छ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्ति मार्फत जनाएका छन् ।
मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उनले बताए । उनका अनुसार अधिकारीहरूले विभिन्न वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका छन् ।
पछिल्लो समय नेपालमा हुने गरेको फुटबल र क्रिकेट प्रतियोगितामा सट्टेवाज र जुवाको कारोबार भैरहेको आरोप लाग्दै आएको छ । केहि अनलाईन कम्पनीले काठमाडौं र मोफसलमा हुने गरेका गोल्ड कप फुटबल प्रतियोगिता, क्रिकेट प्रतियोगितामा प्रायोजनको नाममा यस्ता क्रियाकलाप संचालन गर्दै आएका छन् । यसमा फुटबल क्लबका केहि पदाधिकार र फुटबलकर्मीको पनि संलग्नता रहेको आरोप लाग्ने गरेको छ । तर नेपालमा भने यसको बारेमा प्रहरीले विस्तृत अनुसन्धान गर्न सकेको छैन् ।