रोटी र बेटीको सम्बन्धमा कानुनी र व्यावहारिक जटिलता थपिदै
Tuesday, June 30th, 2026, 1:45 pm
Kalpristha
साबित्री बिश्वकर्मा
नेपालगन्ज, १६ असार
नेपाल र भारतबीचको सम्बन्धको चर्चा हुदा सबैभन्दा बढी प्रयोग हुने शब्दाबली हो रोटी र बेटीको सम्बन्ध । दुबै देशका सरकारहरुका तहमा राजनीतिक असमझदारी देखिए पनि जनस्तरको रोटी र बेटीको सम्बन्ध सदियौ पुरानो र दिगो छ । सरसर्ती हेर्दा रोटी र बेटी सम्बन्ध जति सुमधुर देखिन्छ, तर त्यसका कानुनी र व्यावहारिक पक्षमा भने जटिलता थपिदै गएको छ ।
नेपालगन्ज १६ का मोहम्मद इमरान अन्सारीको २०७५ माघमा भारतको उत्तरप्रदेश गोण्डा जिल्लाको नारायणपुरबाट जुवेदा खातुनको विवाह भयो । उनीहरु चिनजान पहिले देखि नै चिनजान थियो । आफन्तको समन्वयमा उनीहरु बिच मागी बिवाह भयो । जुबेदा बिवाह पछि करिब दुई महिना श्रीमानको घरमा बसेर माइत गईन । विवाहको सुरुवाती दिनबाटै सामान्य कुराहरुमा विवाद हुने, झै झगडा हुन थाले पछि उनी माइतीमा बस्न थालिन । जुवेदा घरमा नआएपछि इमरानले बाँके जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हाले । जुवेदाले प्रतिदावीमा अंश र खानाखर्च पाउँ भनी मुद्दा हालिन । बाँके जिल्ला अदालतले जुवेदाको पक्षमा फैसला गर्यो । यो जोडीको मुद्दा टुंङ्गो लाग्न तीन वर्ष लाग्यो । जुवेदाले अंश पाईन् । जुवेदाको लागि फेरी माईती मै जानुपर्ने भएकोले उनले श्रीमानबाट अंश वापतको रकम लिईन र भारत गईन् । खाना खर्च पाईन र सम्बन्ध बिच्छेद पनि भयो ।
त्यसै गरी नेपालगन्जकी पुनम सिंहले आठ वर्ष अगाडी भारतको बहराईच जिल्लाका एक पुरुषसंग बिवाह गरिन् । उनीहरुको एउटा बच्चा पनि भयो । सुत्केरी अवस्थामा बिरामी परिन । समय मै राम्रो उपचार नपाउदा उनको स्वास्थ्य अवस्था बिग्रदै गयो ।
घरबाट राम्रो उपचार सेवा नपाए माइती आएर दिदीको घरमा बसेर औषधी उपचार सुरु गरिन । तर उनको स्वास्थ्यमा सुधार भएन । स्वास्थ्य बिग्रदै गए पछि घरयासी काम त के हिडडुल गर्न समेत गाहे भयो । श्रीमान र घर परिबारले कुनै वास्ता गरेनन् । केहि समय पछि श्रीमानले पनि अर्को विवाह गरे । श्रीमानले दोस्रो बिहे गरे पछि पुनमले आफ्नी दिदीको सहयोगमा पाच बर्ष पहिले सन २०२०मा जिल्ला अदालत बहराईच भारतमा खाना खर्चको मुद्दा दायर गरिन ।
पुनमी दिदी चन्दा सिंहका अनुसार मुद्दामा दुईलाख भन्दा बढि रकम खर्च भयो । मुद्दा त जितिन् तर अदालतले उनको पक्षमा गरेको फैसला अहिलेसम्म कार्यान्वयन भएको छैन । उनको श्रीमान सम्पर्क मै नआएका कारण फैसला कार्यान्वयन हुन सकेको छैन । पुनम १२ वर्ष देखि माइती मै छिन । अदालतले पुनमलाई हाजिर हुनको लागि पटक /पटक आदेश गरि सकेको छ । तर स्वास्थ्य अबस्था नाजुक भएका कारण पुनम अदालतका उपस्थित हुन सकेकी छैनिन । पुनमकी दिदी चन्दा सिंहका अनुसार फैसला भएको डेढ वर्ष भैसकेको छ तर भौगोलिक दूरी र सुस्त कार्यान्वयन प्रक्रियाका कारण पुनले अझै न्याय पाउन सकेकी छैनन ।
नेपालगन्ज ९ की १७ वर्षिय चन्दा ढपालीको भारतको नानपारामा मागी विवाह भयो । उनी अहिले २२ वर्ष की भईन । उनीहरुका दुई छोरा छन । एउटा पाँच महिनाको बच्चा खेर गयो । श्रीमानको घर नितान्त अलग वातावरण भएको बताउँछिन् । उनलाई परिवार नियोजनका साधन प्रयोग गर्नको लागि समेत सहज भएन । घरबाट एक्लै निस्कन नमिल्ने र परिवारको मानिसहरुको अगाडी लाज लाग्ने हुनाले छिटै बच्चा जन्माउनुपर्ने बाध्यता आईपरेको हो । सानैमा बच्चा जन्मिएकोले अहिले स्वास्थ्यमा असर परेको उनी बताउछिन् । उनी भन्छिन् “घरको कोठा अनि कोठाबाट माईत यत्ति हो हामीले गर्ने भनेको । बाँकी केही थाहा हुँदैन । चाहेको कुरा गर्न पनि गर्न सकिँदैन । परिबारका आफ्नै नियम र मर्यादाहरु छन । चन्दा कै बहिनी इसरत ढपालीको पनि १७ वर्षको उमेरमा भारतको नानपारामा नै विवाह भयो । उनको अहिले एक वर्षको छोरी छ । उनी पनि घर परिबारका आफ्नै नियम र मर्यादाहरुका कारण उकुशमुकुश अबस्थामा छिन । दाम्पत्य जीबन निक्कै कठिन र असहज भएको छ ।
नेपालको खुल्ला परिबेशमा हुर्किएका छोरीहरुलाई बिहेबारी भएर भारतका सीमाबर्ति बस्ती क्षेत्रको समाजमा जादा त्यहाको परिबेश अलि कडा र असहज लाग्न थालेको छ । पछिल्ला दिनहरुका छोरीहरुले बिहेबारी गरेर जादा आफु बसेको शहर भन्दा अलि बिकसित र खुल्ला परिबेश भएको शहर र परिबार रोज्ने क्रम बढ्दै गएको नेपालगन्जका ब्यबसायी आशिष कुमार अग्रबाल बताएछन । तर पुनमले भोगी रहेको उपेक्षा, चन्दा र इसरतले भोगीरहेको एक्लोपनले सीमा बार पार बिहेबारीको सदियौ पुरानो परम्पराका लागि चुनौती बन्दै गएको छ । आफ्ना तिनै छोरीको विवाह भारतको बिभिन्न जिल्लामा गरिदिएका नेपालगन्ज ५ का नरेश सिंह भन्छन ‘अब नेपाली छोरीहरु भारत विवाह गरेर जान मान्दैनन । पहिले र अहिलेको अबस्थामा धेरै नै फेर बदल भइ सकेको छ । ’
भारतसंग सिमा जोडिएको पश्चिम नेपालको प्रमुख शहर हो नेपालगन्ज । नेपालगन्जको सीमाबर्ति भारतीय बस्ती तथा शहरहरुसंग सदियौ पुरानो सम्बन्ध छ । नेपाली छोरीहरुको भारतमा र भारतिय छोरीहरुको नेपालमा बिहेबारी भइ रहेको छ । तर पछिल्ला दिनहरुमा सीमाबारपार बिहेबारीको संख्या घट्दै गएको नेपालगन्जका ब्यबसायी आशिष कुमार अग्रबाल बताउछन । भारतबाट नेपालमा बिवाह गरेर आउने छोरीहरुले अंगीकृत नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय बाकेमा दिने निबेदनलाई तथ्यांक मानेर हेर्दा आर्थिब बर्ष २०७७/०७८ देखि २०८२/०८३ को बैशाख सम्ममा १ सय १९ जनाले अंगिकृत नागरिकता लिएको देखिन्छ । त्यसै गरी नेपालबाट भारतमा बिहे गरेर नेपाली नागरिकता परित्यागका लागि जिल्ला प्रशासन कार्यालय बाकेमा आर्थिक बर्ष २०७७/०७८ देखि २०८२/०८३ को बैशाख ३४ ले निबेदन दिएका छन । नागरिकता बनाए पछि बिहेबारी गर्नेहरुको रेकर्ड भए पनि नागरिकता नै नबनाउदै बाल बिबाह भएकाहरुको एकीन तथ्याङ नै भेटिदैन । बाँकेको छिमेकी जिल्ला बर्दियामा पनि धेरै परिवारहरुबाट भारतमा र भारतबाट यतापट्टि विवाहसम्बन्ध भएको छ । बर्दिया जिल्लामा पनि यकिन रुपमा यतिजनाको भारतमा विवाह भएको छ र नेपालमा विवाह भएको छ भन्ने तथ्यांक नरहेको बताउँछन जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी महेश कुमार गुरुङ्ग ।
शना ढपाली (नाम परिवर्तित) अहिले ३४ वर्ष की भईन उनी विगत ४ वर्षदेखि आफ्नो १० वर्षीय छोरासंगै माईतीमा बसेकी छिन् । उनको माईती नेपालगन्ज उपमहानगरपालिकामा पर्छ । उनको विवाह भारतको नानपारामा भएको थियो । आफ्नो बहिनीको छोरासंग बिवाह गर्दा छोरीको बैवाहिक जिवन सुखमय होला भने सनाको बुवाले विवाह गराईदिएका थिए । विवाहको केहीसमयपछि विभिन्न कारणले परिवारले आफुँलाई हिंसा गर्न सुरु गरेको सना बताउँछिन् । उनि भन्छिन् ‘श्रीमान सुध्रिएलान भने १० बर्ष दुख्ख कष्ट सहेर भए पनि बिताए । तर श्रीमानले चार वर्ष पहिले एक तर्फी रुपमा तलाक (सम्बन्ध बिच्छेद ) दिए । मुस्लिम परम्परामा मौखिक रुपमा तीन पटक तलाक मौखिक रुपमा भने पनि सम्बन्ध बिच्छेद हुन्छ । तलाक पछि उनको जाने ठाँऊ एउटै थियो, माईती, उनी माईती आईन् । पछि दूई परिवारका बिच वार्ता भयो र सनालाई एकमुष्ट एक लाख रकम दिने र दाईजोका सम्पुर्ण समाग्री फिर्ता गर्ने सहमती भयो । शना अहिले सिलाई गर्छिन र केही आम्दानी पनि गर्ने गर्दछिन् । उनको दश वर्षे छोरा अहिले मदरसामा पढ्न जाने गर्दछन् । उनलाई छोरालाई अरु विद्यालयमा पठाउने मन छ । तर छोराको जन्मदर्ता लगायतका प्रमाण नभएका कारण नेपालमा नागरिकता बनाउन समस्या हुनछ कि भन्ने चिन्तामा छिन । हुने कुराले कुनै कानूनी पहिचानको प्रमाणपत्र नभएकोले समस्या भैरहेको छ ।
यता स्थानिय निकायले जन्मदर्ता गराउनको लागि सम्बन्ध बिच्छेदको कानूनी कागजात लिएर आऊ भन्छ तर उनको कानूनतः सम्बन्ध बिच्छेद भएको होइन् । धार्मिक रुपमा भयो त्यो पनि मौखिक । जसले गर्दा अहिले उनलाई कानूनी रुपमा समस्या भैरहेको छ । २०७२ सालमा भारत बहराईचकी पुजा वर्माको नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० नटनपुर्वाका लोकनाथ वर्मासंग सामाजिक परम्परा अनुसार विवाह भयो । पारिवारीक चिनजानबाट उनीहरुको विवाह भएको थियो । पुजाका भनाइमा विवाह भएको ७ वर्षसम्म उनीहरुको वैवाहिक जीवनमा धेरै उतार चढाव आए । लोकनाथले शारीरिक हिंसासंगै मानसिक यातना दिए । २०७९ सालको माघ महिनामा गाली गलौज गरी, कुटपिट गरि घरबाट निकालिदिए पछि माइती गाँऊ भारतको बहराईच गएर बस्न बाध्य भइन । पुजाले बुवाको सहयोगमा २ वर्षसम्म बाँके जिल्ला अदालतमा मुद्दा लडिन । लोकनाथले विवाह भएको ७ वर्ष हुँदा पनि विवाहदर्ता, नागरिकता वा कुनैपनि परिचयपत्र बनाएका थिएनन् । जसले गर्दा पुजालाई कानूनी लडाई लड्नको लागि निकै समस्या भयो । खानाखर्च, अंश र सम्बन्ध बिच्छेदको मुद्दा २०७९ माघ ०८ गते दायर गरिन् । दुई वर्ष पछि २७ फागुन २०८१मा अदालतले पुजाको पक्षमा फैसला गरिदिायो ।
पुजाको पक्षबाट मुद्दा लडेका बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका अनुसार ‘ बिबाह भए पछि पनि बिबाह दर्ता नगउराउने , बच्चा जन्मिए पछि बच्चाको जन्म दर्ता नै नगराइदिने गरेका कारण कानूनी लडाईँ लड्दा धेरै समस्या हुने गरेको छ ।’ कानूनी रुपमा विवाहदर्ता भएको र बच्चाको जन्मदर्ता भएको खण्डमा नेपालको नागरिक सरह नै कानूनी प्रक्रियाबाट सम्बन्ध बिच्छेद गर्ने तथा अरु अधिकार प्रयोग गर्न सक्ने अवस्था छ । सम्बन्ध बिच्छेद गर्नुपरेको र अंश लिनु परेको खण्डमा नागरिकता भएको अवस्थामा नेपालको अरु नागरिक सरह अंश आफ्नो नाममा गर्न सक्ने र नागरिकता नभएको अवस्थामा आफ्नो भागको सम्पत्ति सिधैँ बेच्न मिल्ने नियम रहेको अधिवक्ता श्रेष्ठले बताए । उनका अनुसार मुख्य समस्या भनेको ब्यक्तिगत घटना दर्ता नगरेका कारणले हुने गर्दछ । पुजाको हकमा पनि उनको नेपाली परिचय पत्र तथा नागरिकता समेत नभएकोले सिधै बेचेर नगद लिनुपर्ने अवस्था सिर्जना भएको अधिवक्ता बताउँछन् । भारतको दिल्लीलाई कर्मथलो बनाएर बकालत गर्दै आएका अभिबक्ता प्रेम क्षेत्री भन्छन ‘ नेपालबाट भारतमा बिहेबारी गर्ने छोरीहरुले बिहेबारी सकिए लगत्तै बिबाह दर्ता , प्यान कार्ड र आधारकार्ड बनाइ हाल्नु पर्छ । बिबाह दर्ता प्रमाण पत्र , प्यान कार्ड र आधारकार्ड पछि उत्पन्न हुने सक्ने अनेकौ कानुनी झमेलाहरुका लागि बलियो प्रमाणको रुपमा काम लाग्छ । त्यसका साथै केटा केटी र उनका अभिभाबकहरुले नेपाल र भारत दुबै देशका सामान्य नियम कानुनहरुका बारेमा जानकारी राख्नु पर्छ ।
भारतका मान्छेलाई नेपालबाट छोरी ल्याउन र छोरी दिन गर्वको कुरा रहेको बताउँछिन कृष्णा पाण्डे । कृष्णा पाण्डे भारतको गोरखपूर माईती भई नेपालगन्जमा विवाह गरेर नेपाललाई कर्मभूमी बनाएकी शिक्षक हुन् । उनी भन्छिन् ‘अन्तरदेशिय विवाह गर्दा मनोवैज्ञानिक र ब्यवहारिक रुपमा धेरै अप्ठ्यारा पर्ने गरेको छ । भाषागत समस्या, रहनसहन, खानपान र पूजा पद्धतिदेखि धेरै कुराहरूमा एडजस्ट हुन समस्या हुन्छ । घरका कुराहरू र परम्परागत कुराहरु केहि फारक छ र अधिकांस कुराहरु वातावरणले पनि प्रभाव पार्छ । ’ नेपालको छोरी भारतमा भन्दा भारतका छोरी नेपाल आएर अलि छिटै घुलमिल हुने उनी बताउछिन् । उनका अनुसार नेपालको वातावरणमा धेरै खुलापन छ भारतको तुलनामा । पहिलाको तुलनामा अहिले भारतबाट छोरी दिन नमान्ने गरेको उनको अनुभव छ । उनका अनुसार बदलिरहने राजनितिक परिस्थिती र विविध ब्यवहारिक पाटोले यसमा भूमिका खेलिरहेको छ । पाण्डे भन्छिन् ‘अन्तर देशीय विवाह गर्दा धेरै कुराहरु लुकाइएको हुँदो रहेछ । मलाई पनि धेरै कुरा लुकाईएको थियो । यति मात्र होइन यहाँ केही गर्न खोज्दा परिवारबाटै ए भारतीय त होस् भन्ने सम्मको कुरा सुन्नु परेको छ ।’ विवाह भएर आउने जाने छोरीले उक्त परिवार र देशलाई अप्नाएपनि अर्को पक्षले स्वीकार्नै नसक्ने मनोविज्ञान पनि भएको उनी बताउँछिन् ।
यस्ता समस्या पर्दा पिडित मात्रैले समस्यासंग लड्न नसक्ने अवस्था हुन्छ । यस्तो अवस्थामा नेपाल भारत मैत्री संघबाट भने खासै केही गर्ने गरेको देखिदैन । नेपाल भारत मैत्री संघ बाँकेका अध्यक्ष प्रदिप कुमार गुप्ताका अनुसार समस्यामा परेकाहरुलाई काठमान्डौ स्थित भारतिय राजदुताबास सम्म जानका लागि सहजीकरण गर्न सकिन्छ । आबश्यक सल्लाह सुझाब दिने दिएर सक्दो सहजीकरण गर्दै आएका छौ । नेपालको मिथिला क्षेत्र (जनकपुर, सिरहा, सप्तरी, आदि), मधेश क्षेत्र र भारतको बिहार तथा उत्तर प्रदेशका मिथिला, भोजपुरी तथा मधेसी समुदाय बीच विवाहको परम्परा लामो समयदेखि चलिआएको छ । दर्जनौं पुस्तासम्मका नेपाली र भारतीय परिवारहरू एक–अर्कासँग नातेदार बनेका छन् । कोहीको आमा भारतकी, कोहीको बुहारी नेपालकी — यस्तो सम्बन्धले दुई देशलाई भावनात्मक रूपमा जोडेको छ । तर देशलाई यसरी जोडिईरहँदा सीमाबार बिहेबारी गर्ने छोरीहरुले खेप्दै आएको समस्या भने बर्षेनी बढ्दै गएको छ ।