सेन्ट्रल सिटी अस्पतालमा भोली पत्रकारको निःशुल्क मिर्गौला जाँच शिविर
Friday, September 11th, 2026, 11:48 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, भदौं २६ गते
सेन्ट्रल सिटि अस्पताल नेपालगन्जमा पत्रकारहरुको निःशुल्क मिर्गौला जाँच शिविर गरिने भएको छ । नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँकेको आयोजना र समन्वयनमा भोलि विहान पत्रकारहरुका लागि निःशुल्क मिर्गौला जाँच शिविर हुन लागेको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्वर्गीय पन्नालाल गुप्ताको ९८ औँ जन्मजयन्तीको अवसर पारेर शिविर आयोजना गर्न लागिएको हो । शिविर भोलि बिहान साढे ७ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका–१०, सुर्खेतरोडस्थित सेन्ट्रल सिटी अस्पतालमा सञ्चालन हुनेछ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीका अनुसार पत्रकारहरूको व्यस्त पत्रकारका लागि सेन्ट्रल सिटी अस्पतालमा निःशुल्क मिर्गौला जाँच शिविरकार्यशैलीका कारण आफ्नो स्वास्थ्य परीक्षणमा पर्याप्त ध्यान पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै मिर्गौला जाँच शिविर आयोजना गरिएको हो । पत्रकारहरूले नियमित स्वास्थ्य परीक्षणमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन सकून् भन्ने उद्देश्यले शिविर राखिएको उनले बताए ।
पूर्व अध्यक्ष गुप्ताको जन्मजयन्तीमा गत वर्ष भेरी अस्पतालसँगको सहकार्यमा निःशुल्क मुटु जाँच शिविर आयोजना गरिएको थियो । त्योभन्दा अघिल्लो वर्ष नेपाल प्रेस युनियनको आयोजनामा सेन्ट्रल सिटी अस्पतालमा मिर्गौला जाँच शिविर गरिएको थियो ।
मिर्गौलासम्बन्धी समस्या प्रारम्भिक चरणमा धेरैजसो अवस्थामा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षणलाई चिकित्सकहरूले महत्वपूर्ण मान्दै आएका छन् । यही कुरालाई ध्यानमा राख्दै पत्रकारहरूलाई लक्षित गरेर स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउन शिविर आयोजना गरिएको प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।
शिविरमा पत्रकारहरूले निःशुल्क रूपमा मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । स्वास्थ्य परीक्षणका क्रममा देखिएका सम्भावित समस्या तथा आवश्यक परेमा थप उपचार र परामर्शका विषयमा समेत चिकित्सकीय सुझाव उपलब्ध गराइने अस्सपतालका वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट डा.दिपेश गुप्ताले बताए ।
नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले स्वर्गीय पन्नालाल गुप्ताको पत्रकारिता तथा सामाजिक योगदानलाई स्मरण गर्दै उनको जन्मजयन्तीलाई स्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम आयोजना गर्दै आएका छन् ।
शिविर पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । महासंघका अध्यक्ष गिरीले बाँकेमा क्रियाशील पत्रकारहरूलाई निर्धारित समयमा सेन्ट्रल सिटी अस्पतालमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षणको अवसर लिन आग्रह पनि गरेका छन् ।