देउवा नेतृत्वको सबै केन्द्रीय सदस्यलाई १५औं महाधिवेशनको आयोजक बनाउने निर्णय
Sunday, September 13th, 2026, 7:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २८ भदौं
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १४ औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५ औं महाधिवेशनको तयारीमा जुटने निर्णय भएको बताउनु भएको छ । कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास गरिएको उहाँले बताउनु भयो ।
आइतबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सहभागी हुने क्रममा बोल्दै उहाँले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई १४ औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने जानकारी गराउनु भयो ।
भण्डारीले राजनीतिक नेतृत्वले आफूले पाएका पद र अवसरको उपयोग जनताको जीवन परिवर्तनमा गर्नुपर्ने समेत बताउनु भएको छ । उहाँले भन्नु भयो,‘पटक–पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बने पनि जनताका छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था कायम रहे त्यसको औचित्यमाथि प्रश्न उठाउनुपर्ने हुन्छ ।’
नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाए पछि अहिलेको विवाद समाधानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।यसैगरी नेपाली कांग्रेस आगामी १५औं महाधिवेशनको तयारीमा जुटिसकेको छ । सुरुआतमा वडा स्तरको अधिवेशनलाई आयोजना गर्नमा जिल्ला कार्यसमितिहरु सक्रिय भएर लागेका छन् । नेपाली कांग्रेस बाँकेले पनि वडा अधिवेशनको व्यवस्थापनलाई तिव्र गतिमा अगाडी बढाएको छ ।
असोज ३ गते वडा अधिवेशनबाट कांग्रेसको १५औं महाधिवेशनको सुरुआत वडा स्तरबाट हुनेछ । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले महाधिवेशनको तयारी तिव्र गतिमा अगाडी बढेको बताउनु भयो । नेपाली कांग्रेस बाँकेले गत शनिबार पार्टी कार्यालयमा वडा देखि केन्द्र सम्मका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ ।
असोज ३ गते बाँकेका ८१ वटैं वडामा अधिवेशन हुने सभापति गौडेलले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेस बाँके १५औं केन्द्रीय महाधिवेशनको तयारीमा जुटिसकेको छ । सुरुआतमा वडाको अधिवेशन गर्नको लागि तयारी भएको छ । त्यसको छलफलको लागि हामीले पार्टीको विभिन्न जिम्मेवारीमा रहनु भएका नेताहरुलाई बोलाएर छलफल गरेर जानकारी गराएको छौं ।’
छलफलमा नेपाली कांग्रेस बाँकेले वडा सभापति, पालिका, नगरसभापति, प्रदेश सभापति, प्रदेश महाधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पुर्व पार्टी सभापति, जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा पार्टीको विभिन्न जिम्मेवारीमा रहनु भएका नेताहरुलाई बोलाएर छलफल गरेको थियो । प्रत्येक वडामा जाने निर्वाचन अधिकृत र प्रतिनिधिहरुको बारेमा पनि तयारी गरेको सभापति गौडेलले बताउनु भयो ।
अधिवेशनको सम्पुर्ण तयारी पुरा भएकोले चुनौति केहि पनि नभएको उहाँले बताउनु भयो । नेपाली कांग्रेसले देशभर असोज ३ र ४ गते स्थानीय अनुकुलता अनुसार निर्वाचन सम्पन्न गर्ने तयारी गरेको छ । जसमा ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुनेछ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिका अनुसार असोज ७ गते गाउँ र नगरअधिवेशन हुनेछ । असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि र सभा क्षेत्रीय अधिवेशन हुनेछ भने असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भएको छ ।