जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु न्यू हिमालयन एफ सि को विजयी सुरुवात
Monday, October 12th, 2026, 7:07 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ असोज
बाँकेको खजुरामा न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। दसैँ–तिहारको अवसर पारेर आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू हिमालय एफ.सी. एफ गाउँले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा न्यू हिमालय एफ.सी.ले मोडल एफ.सी. सी गाउँलाई १–० गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेलमा न्यू हिमालयका जर्सी नम्बर १३ का खेलाडी बबी पुनमगरले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

…………
न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष धनराम वलीले रेफ्रीलाई बल हस्तान्तरण गरेका थिए। उद्घाटन समारोहमा बोल्दै कार्यवाहक अध्यक्ष वलीले जिल्ला स्तरीय प्रतियोगिताले बाँकेका फुटबल खेलाडीको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय खेलाडीलाई प्रोत्साहन र अवसर प्रदान गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीले आफ्नो वडामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलकुद गतिविधि सञ्चालन भइरहेकामा खुसी व्यक्त गरे। उनले खेलाडी उत्पादन र खेलकुदको विकासलाई वडा सरकारले प्राथमिकतामा राखेको बताए।
त्यसैगरी बाके खजुरा गाउँपालिकाको खेलकुद विकास समितिका सदस्य सचिव छबि बिष्टज्युले प्रतियोगितालाई दोस्रो खजुरा गोल्डकपको तयारीका रूपमा समेत लिइएको बताए। उनले आगामी गोल्डकपमा सहभागी हुने अधिकांश खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने अपेक्षा व्यक्त गर्दै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे।
न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष खत्रीले जिल्लामा रहेका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको खेलजीवनलाई अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
बाँके जिल्लामा धेरै प्रतिभाशाली युवा फुटबल खेलाडी हुनुहुन्छ। तर, पर्याप्त अवसर र उचित मञ्चको अभावमा कतिपय खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न पाइरहनुभएको छैन। जिल्लाका खेलाडीले प्रतिभा देखाउन, अनुभव बटुल्न र खेल जीवनलाई अझ माथि उठाउन सकून् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौँ,” अध्यक्ष खत्रीले भने।
उनले स्थानीय स्तरबाटै खेलाडी उत्पादन गर्दै भविष्यमा उच्च स्तरको फुटबलसम्म पुग्ने बाटो निर्माण गर्ने प्रयास भइरहेको बताए। दसैँ–तिहारको अवसरमा खेलकुदमार्फत युवाबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न प्रतियोगिताले सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गरे।

……….
प्रतियोगितामा विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा नेपालगन्ज न्युरो हस्पिटलले सहकार्य गरेको क्लबका अध्यक्ष खत्रीले जानकारी दिए। पुरस्कार राशि खजुरा गाउँपालिका–४, डी गाउँ निवासी तथा हाल अमेरिकामा रहेका समाजसेवी लिलबहादुर थापाले सौजन्य गरेका हुन्। थापाले यसअघि खजुरा गोल्डकपमा समेत प्रथम पुरस्कारस्वरूप सात लाख रुपैयाँ प्रदान गरेका थिए। अध्यक्ष खत्रीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने थापाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
प्रतियोगिताले जिल्लाभित्रका फुटबल प्रतिभालाई पहिचान गर्ने, खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने तथा आगामी दिनमा खजुरालाई फुटबलको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।