इलाका प्रहरी कार्यालय धामपुरमा प्रनानि निरीक्षक निरज चौधरीको शानदार इन्ट्री, शान्ति सुरक्षा कायम गर्न प्रतिबद्धता
Monday, October 12th, 2026, 7:16 am
Kalpristha
कृष्ण केसी
बाँके, १५ असोज
बाँकेको राप्ती सोनारी गाउँपालिका–४ स्थित इलाका प्रहरी कार्यालय धामपुरमा प्रहरी नायब निरीक्षक (प्रनानि) निरज चौधरीको आगमनसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवाका विषयमा छलफल गरिएको छ। दशैँ–तिहारको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं ३, ४ र ५ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले चाडपर्वका समयमा हुन सक्ने मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध दुर्व्यसन तथा कारोबार, वन्यजन्तुको चोरी–तस्करी र हिंसात्मक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्ने सम्पूर्ण राप्ती सोनारी बासीलाई हार्दिक अपिल गर्नुभएको थियो।

………
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रनानि निरज चौधरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीसँगै समुदायको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। उहाँले समाजमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहने र कानुनविपरीतका कार्यमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चाडपर्वका समयमा हुन सक्ने झैझगडा, होहल्ला तथा अन्य अवाञ्छित गतिविधि रोक्न राति १२ बजेसम्म मात्र नाचगान तथा मनोरञ्जन गर्न पाउने र त्यसपछि प्रतिबन्ध लगाइएको जानकारीसमेत उहाँले दिनुभयो।
धामपुर क्षेत्रलाई चोरी–तस्करी, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिबाट मुक्त गराउँदै शान्त, सुरक्षित र मर्यादित समाज निर्माण गर्न आफू प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
दोषीलाई संरक्षण नगर्न राजनीतिक दललाई आग्रह
प्रनानि चौधरीले कानुनको शासन कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै दोषीलाई संरक्षण गर्न वा कानुनी कारबाही प्रभावित पार्ने उद्देश्यले प्रहरी कार्यालय नआउन राजनीतिक दलका नेताहरूलाई आग्रह गर्नुभयो। कानुन सबैका लागि समान हुने भन्दै अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी प्रक्रियाअनुसार कारबाही गरिने उहाँको भनाइ थियो ।
प्रहरी जनशक्ति सीमित भए पनि नागरिकलाई सुरक्षित महसुस गराउने, शान्ति सुरक्षा कायम गर्ने र जनतालाई सहज रूपमा सेवा प्रदान गर्ने कार्यमा प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमले प्रहरी र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।