लिफ्ट सिँचाईले बढाउँदैछ राधापुरका किसानको उत्पादन
Friday, October 30th, 2026, 6:50 pm
Kalpristha
सौरभ राना
बाँके, १२ कात्तिक
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुर कृषि क्षेत्रबाट आम्दानी गर्न सक्ने वडाको रूपमा मानिन्छ । भारतसँग सिमा जोडिएको वडामा सिंचाईको लागि भने आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो । पछिल्लो समय भने किरणनाला लिफ्ट सिंचाई योजना खजुरा १ का वडा बासीको लागि निकै महत्वपूर्ण साबित भएको छ । यस योजनाबाट बहादुरपूर, चन्द्रनगर र जलपोखरी क्षेत्र लाभान्वित हुने गरेका छन् । योजनाले गर्दा यस क्षेत्रका स्थानीयहरूले बाह्रैमासे सिंचाईको पहुँचमा रहने गरेको वडा अध्यक्ष मनवीर क्षेत्रीले बताउनु भयो । पछिल्ला केहि वर्षमा हरेक वर्ष आरसीसी कुलोको लागि प्रत्येक वर्ष प्रदेशले बजेट दिने गरेको उहाँले बताउनु भयो ।

………..
१२ सय विगाह क्षेत्रफलको जग्गामा सिँचाई गर्ने योजना अनुरूप सुरु गरिएको यस योजना संघीय सरकारले लगभग तीन चार करोडको लगानीमा थालनी भएको थियो । पछि प्रदेशले निरन्तर लगानी गर्दै आईरहेको छ ।
सिंचाई योजनाको क्षमता अनुरूपको क्षेत्रफलमा अझै सिंचाई गर्न नसकिएपनि धेरै जनता लाभान्वित भएको अध्यक्षले कालपृष्ठ दैनिकलाई बताउनु भयो । उहाँले भन्नु भयो, ‘सिँचाइलाई सुधार गरेपछि अब विगतभन्दा अहिले बर्खे बाली पनि समयमै लगाउन सकिन्छ । किसानहरूले अहिले धान रोपाइ गर्न पनि सहज अनुभूति गर्नु हुन्छ । हिउँदे बाली पनि मकै, भिन्डी, बोडी लगायतको तरकारीहरू लगाउन सहज भएको छ ।’
लिफ्ट सिँचाई योजनालाई प्रतिनिधि भएर निर्वाचित भएपछि प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष क्षेत्रीले बताउनु भयो । उहाँले थप्नु भयो, ‘हामीले यसलाई विशेष प्राथमिकता दिएको छौं । जनताले समयमा पानी पाउनु पर्छ, पानी पाएपछि किसानले समयमा उत्पादन गर्न सक्छन ।’
विगतमा किरण नाला लिफ्ट सिँचाइ योजनाको पुरानो संरचनाहरू भत्किएको अवस्था थियो भने इट्टाको पर्खाल थियो । त्यसको संरचना सुधार गर्न वडाले योजना बनाएर काम गरेको उहाँले बताउनु भयो । वडा अध्यक्ष क्षेत्रीले थप्नु भयो,‘अहिले हामीले आरसीसी कुलोहरू बनाईसकेका छौं र कति अन्य वडामा बनिरहेका छन् । यसले यहाँको कृषकलाई काम थोरै भएपनि सहयोग पुग्नेछ । सिंचाईको लागि हामी अन्य वैकल्पिक योजनाहरू पनि बनाएर काम गर्ने योजना बनाइरहेका छौं । जसले गर्दा किसानलाई हरेक महिना उत्पादन मुलुक कृषि क्षेत्रमा काम गर्न सुविधा पुगोस भन्ने हाम्रो लक्ष्य छ ।’
सिंचाई स्रोत कृषि उत्पादनको लागि अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ । खजुरा गाउँपालिकामा कृषि क्षेत्रलाई अझ उत्पादनशील बनाउनको लागि विभिन्न प्रकारका सिंचाई स्रोतहरू प्रयोग गरिएको छ । यी सिंचाई स्रोतहरू मध्ये ताल वा जलाशय, सिंचाई नहर, वर्षाको पानी संकलन, विद्युतीय लिफ्ट सिंचाई, नहर, पम्पिङ सेट, भूमिगत सिंचाई लगायतका स्रोतहरू पर्दछन् । खजुरा गाउँपालिकाको सिंचाई स्रोत सम्बन्धी तथ्याङ्क अनुसार, कुल ७१५.०५हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध छ, जसमध्ये सबैभन्दा बढी ताल वा जलाशयमार्फत ८०.८ प्रतिशत अर्थात ५७७.४९ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा छ ।
सिंचाई स्रोतको विश्लेषण गर्दा खजुरा गाउँपालिकामा परम्परागत सिंचाई स्रोतहरू (नहर, सिंचाई नहर) ले ६.८८ प्रतिशत क्षेत्रफल ओगटेको देखिन्छ, जबकि आधुनिक सिंचाई प्रविधिहरू (विद्युतीय लिफ्ट सिंचाई, भूमिगत सिंचाई, पम्पिङ सेट) ले २.०२ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराईरहेको तथ्यांकले देखाउँछ ।
सिंचाई स्रोतको दिगोपनको दृष्टिकोणबाट, लगभग ८४ प्रतिशत क्षेत्रफलमा आधुनिक तथा प्राकृतिक स्रोतहरूबाट सिंचाई गरिएको छ, जसले भविष्यमा दिगो सिंचाई व्यवस्थापनको सम्भावना देखाउँछ ।