कर्णाली र सुदूरपश्चिमको मौलिकता बोकेको ‘ओ मेरी छोराटी’ म्युजिक भिडियो सार्वजनिक
Friday, November 6th, 2026, 4:56 pm
Kalpristha
नेपालगन्जमा भव्य कार्यक्रमबीच वरिष्ठ संगीतकार ओम शर्मा र गायक सुनिल सिंह ठकुरीले गरे म्युजिक भिडियोको विमोचन
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० कात्तिक
कर्णाली तथा सुदूरपश्चिमको मौलिक भाषा, संस्कृति र संगीतलाई समेटिएको गायक तथा मोडेल सुनिल सिंह ठकुरीको नयाँ गीत ‘ओ मेरी छोराटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। पश्चिम नेपालको सांस्कृतिक पहिचानलाई गीत–संगीतमार्फत उजागर गर्ने उद्देश्यसहित तयार पारिएको उक्त म्युजिक भिडियो शुक्रबार नेपालगन्जमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
वरिष्ठ संगीतकार ओम शर्मा र गायक सुनिल सिंह ठकुरीले संयुक्त रूपमा गायक ठकुरीकै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। बास नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा गीत तथा भिडियो निर्माणमा संलग्न कलाकार, प्राविधिक र संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो।
कर्णाली क्षेत्रको भाषा, भाका र सांस्कृतिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरिएको गीतको छायांकन कर्णाली नदीको पुलसहित चिसापानी आसपासका विभिन्न रमणीय स्थानमा गरिएको छ। पश्चिम नेपालको प्राकृतिक सौन्दर्य र स्थानीय मौलिकतालाई दृश्यमा उतार्ने प्रयास गरिएको गायक ठकुरीले बताए।

……..
सुनिल सिंह ठकुरी र सदिक्षा कँटेलको स्वर रहेको ‘ओ मेरी छोराटी’ मा नवीन रावलको शब्द तथा संगीत रहेको छ। सुरज पाण्डेको निर्देशनमा तयार भएको भिडियोमा भूगोल कुमार कार्की, करिष्मा शाही ठकुरी, सुनिल सिंह ठकुरी, दिनेश कठायत काजी र दिनेश रेग्मीले अभिनय गरेका छन्। भिडियोको छायांकन विशाल परियारले गरेका हुन् भने शृंगारको जिम्मेवारी रवि केसीले सम्हालेका छन्। तुलसी देवी फिल्म प्रालिले निर्माण गरेको भिडियोको मिडिया प्रमोसन पार्टनर कालपृष्ठ दैनिक रहेको छ।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य राखेका थिए। सो अवसरमा गायक ठकुरीले आफ्ना गीत प्रस्तुत गर्दै उपस्थित दर्शकलाई सांगीतिक मनोरञ्जनसमेत प्रदान गरेका थिए। बास नेपालका अध्यक्ष शिवकुमार वर्माले गायक ठकुरीसहित सम्पूर्ण निर्माण टोलीलाई सफलताको शुभकामना व्यक्त गरे।
आफ्नै पश्चिमेली भाषामा गीत गाउन पाउँदा निकै खुसी र उत्साहित भएको गायक ठकुरीले बताए। उनले भने, ‘पहिलो पटक सुदूरपश्चिमको संस्कृति र मौलिकतालाई चिनाउने गीत गाउन पाउँदा निकै खुसी लागेको छ। म निकै उत्साही छु। आफ्नै पश्चिमेली भाषाको गीतलाई मेरा प्रिय स्रोत तथा दर्शकले माया गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
भिडियोमा अभिनय गरेका कलाकार भूगोल कुमार कार्कीले सुदूरपश्चिमको मौलिकता झल्काउने गीतमा अभिनय गर्न पाउँदा गर्व महसुस भएको बताए।

……….
नेपाली गीत–संगीतमा आफ्ना सांगीतिक प्रस्तुति र म्युजिक भिडियोमार्फत परिचित हुँदै आएका ठकुरीले ‘ओ मेरी छोराटी’ मार्फत पश्चिम नेपालको भाषा, भाका र सांस्कृतिक पहिचानलाई फराकिलो दर्शकवर्गसम्म पुर्याउने प्रयास गरेका छन्। स्थानीय भाषा र संस्कृतिमा आधारित गीत–संगीतको प्रवर्द्धनमा यस गीतले थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।