सुरु भयो कोशेलीघर नेपालगन्जमा ‘तिहार उत्सव–२०८३’
Wednesday, November 4th, 2026, 8:18 pm
Kalpristha
सुनिता श्रेष्ठ
नेपालगन्ज, १७ कात्तिक
स्वदेशी तथा अर्गानिक उत्पादनको प्रवद्र्धन गर्नुका साथै महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा दुई दिने ‘तिहार उत्सव–२०८३’ सुरु भएको छ । उत्सवको आज समापन हुनेछ । महिला उद्यमी संघ नेपाल बाँकेद्वारा सञ्चालित कोशेली घर नेपालगन्जको आयोजनामा भएको उत्सवमा बाँकेका महिला उद्यमीहरूले आफ्नै मिहिनत, सीप र सिर्जनशीलताबाट उत्पादन तथा निर्माण गरेका विभिन्न वस्तु तथा सामग्री बिक्री वितरणको लागि राखिएको छ । उत्सवको पहिलो विभिन्न उद्योग तथा व्यवसायीहरुले अवलोकन गर्नु भएको थियो ।
नेपाली उत्पादनको उपभोग बढाउने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र महिला उद्यमीलाई आफ्नो उत्पादनको प्रचारप्रसार तथा बिक्री गर्ने अवसर प्रदान गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो ।
उत्सवमा घर सजावट, पूजाआजा, भाइटीका, देउसीभैलो तथा विभिन्न परम्परागत गतिविधिका लागि आवश्यक सामग्री राखिएका छन । उत्सवमा विशेषगरी तिहारमा प्रयोग हुने पूजाका सामग्री, विभिन्न परिकार तथा खानेकुरा, शृङ्गारका सामान, हस्तकलाका सामग्री, लत्ताकपडा, पुष्पमाला, घर सजावटका सामग्री, अर्गानिक खाद्यान्नलगायत स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुहरू बिक्रीको लागि राखिनेछन् । यसले तिहारका लागि आवश्यक सामग्री खरिद गर्न चाहने उपभोक्तालाई सहजता प्रदान गर्नुका साथै स्थानीय उत्पादनको पहिचान र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तिहार उत्सवमा करिब १२ वटा स्टल राखिएका छन । कोशेली घर नेपालगन्जले गत वर्षदेखि तिहारलाई लक्षित गरी महिला उद्यमीका घरायसी तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न तिहार उत्सव आयोजना गर्दै आएको छ । गत वर्ष सुरु गरिएको यस प्रयासलाई निरन्तरता दिँदै यस वर्ष पनि तिहार उत्सव आयोजना गरेको हो ।
कोशेली घरले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउने माध्यमका रूपमा काम गर्दै आएको छ । घरमै उत्पादन गरिएका खाद्य सामग्री, हस्तकलाका वस्तु, परम्परागत सामग्री तथा स्थानीय सीप र प्रविधिमा आधारित उत्पादनलाई बजार उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो । तिहार उत्सवले यस्ता उत्पादनलाई एकै स्थानमा प्रदर्शनी तथा बिक्रीका लागि राख्ने अवसर प्रदान गर्नेछ ।
आयोजकका अनुसार उत्सवको मुख्य उद्देश्य महिला उद्यमीलाई प्रोत्साहन गर्नु, उनीहरूले उत्पादन गरेका सामग्रीको बजार विस्तार गर्नु र स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउनु हो । विशेषगरी चाडपर्वका समयमा बजारमा बाह्य उत्पादनको प्रयोग बढ्ने अवस्थामा स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सामग्रीको उपयोगलाई प्राथमिकता दिन उत्सवले प्रेरित गर्ने विश्वास गरिएको छ ।
यसैगरी नेपाली मौलिक संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएका परिकार तथा सामग्रीको प्रवद्र्धन गर्नु पनि उत्सवको अर्को महत्वपूर्ण उद्देश्य रहेको छ । तिहारमा प्रयोग हुने परम्परागत पूजाका सामग्री, स्थानीय खाद्य परिकार, फूलमाला तथा हस्तकलाका वस्तुको प्रदर्शनी र बिक्रीले नेपाली मौलिकता र स्थानीय उत्पादनको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।
उत्सवका क्रममा स्टलमा राखिएका सामग्री तत्काल बिक्री वितरण गर्नुका साथै उत्सव सम्पन्न भएपछि पनि उपभोक्ताको मागअनुसार ती वस्तु तथा सामग्री कोशेली घर नेपालगन्जमा उपलब्ध गराउने व्यवस्था मिलाइने आयोजकले जनाएको छ । यसले दुई दिनको उत्सवमा मात्रै सीमित नभई महिला उद्यमीका उत्पादनलाई नियमित रूपमा बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले विगत एक दशकदेखि महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण र प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । संघले हरेक वर्ष लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई व्यापक रूपमा प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्रदान गर्दै आएको छ ।
यस्ता प्रदर्शनी तथा उत्सवले महिलालाई व्यापार, व्यवसाय र उद्यमशीलताप्रति आकर्षित गर्नुका साथै आफ्नै सीप, श्रम र क्षमताको उपयोग गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास गरिएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बजार विस्तार हुँदा उनीहरूको आम्दानी बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्न सक्छ ।
विशेषगरी घरायसी सीप र परम्परागत ज्ञानमा आधारित उत्पादनलाई व्यावसायिक रूप दिन, नयाँ बजार खोज्न र उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रम उपयोगी हुने देखिन्छन् । कोशेली घरले आयोजना गर्न लागेको तिहार उत्सवले पनि महिला उद्यमीका उत्पादनलाई थप पहिचान दिलाउँदै स्वदेशी तथा अर्गानिक वस्तुको उपभोग संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।