खजुरामा सुरु भयो व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी घुम्ती शिविर
Wednesday, November 25th, 2026, 8:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँके, ९ मंसिर
खजुरा गाउँपालिकाको आर्थिक २०८३÷०८४ को स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने तथा जनताको घरदैलोमा सेवा पु¥याउने उद्देश्यले व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी घुम्ती शिविर सुरु गरेको छ । खजुराको वडा नम्बर १ बाट शिविर सुरु गरिएको वडा अध्यक्ष मनवीर क्षेत्रीले बताउनु भयो । अपाङ्गता भई व्यवसाय सञ्चालन गरेका व्यक्तिहरूको हकमा घुम्ती शिविर अवधिभर व्यवसाय दर्ता तथा नवीकरण बापत लाग्ने रकममा ५० प्रतिशत छुट रहेको छ ।
बुधबार पहिलो दिन वडा कार्यालयमा सम्पन्न भएको घुम्ती शिविरमा व्यवसाय दर्ता ६ वटा तथा नविकरण १४ वटा भएको छ । बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तर दर्ता तथा नवीकरण नगरेका उद्योग, व्यापार, व्यवसाय, फर्म तथा कम्पनीलाई लक्षित गर्दै घुम्ती शिविर सञ्चालन गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो । गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले २०८३ मंसिर ७ गते सूचना जारी गर्दै व्यवसाय दर्ता, नवीकरण, व्यवसाय कर भुक्तानी तथा राजस्व संकलनसम्बन्धी सेवा नागरिककै घरदैलो तथा स्थानीय बजार क्षेत्रमा पुगेर प्रदान गर्न घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
गाउँपालिकाले स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै स्थानीय व्यवसायीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको हो । खजुरा गाउँपालिकाको व्यवसाय करसम्बन्धी कार्यविधि, २०७७ अनुसार व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्ने र दफा ५ अनुसार व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

……..
गाउँपालिकाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर ९ गते वडा नम्बर १, मंसिर १० गते वडा नम्बर २, मंसिर १४ गते वडा नम्बर ७, मंसिर १५ गते वडा नम्बर ४, मंसिर १६ गते वडा नम्बर ५, मंसिर १७ गते वडा नम्बर ६, मंसिर २१ गते वडा नम्बर ८, मंसिर २२ गते वडा नम्बर ३ र मंसिर २३ गते वडा नम्बर २ अन्तर्गत सी गाउँ बजार क्षेत्रमा शिविर सञ्चालन हुनेछ ।
शिविर बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ६ को शिविर सिमलघारी बजारमा र वडा नम्बर २ को मंसिर २३ गतेको शिविर सी गाउँ चोकमा सञ्चालन खजुरा गाउँपालिका प्राविधिक शाखा प्रमुख सुरेश साहुले बताए ।
शिविरमा सेवा लिन आउने व्यवसायीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यवसाय दर्ता तथा इजाजत प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, तीन प्रति पासपोर्ट साइजको फोटो र व्यवसाय दर्ता प्रमाणपत्र (नवीकरणका हकमा अनिवार्य) पेश गर्नुपर्नेछ । त्यस्तै, भाडाको घरमा व्यवसाय सञ्चालन गरिरहेको भए घरबहाल सम्झौता पत्र र अपाङ्गता भएका व्यक्तिका हकमा अपाङ्गता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।