प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसहित प्रस्ताव दर्ता
Friday, October 2nd, 2020, 3:57 pm
amit
काठमाण्डौ, १६ असोज । प्रदेश नं ५ को सरकारले स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णग गरेसँगै उक्त प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ।
नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा राजधानी राख्न परिपत्र गरेपछि सो निर्णय गरिएको एक मन्त्रीले बताएका छन्।
प्रदेश सरकारले बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाएको छ। प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ।
प्रदेशका सभामुख पूर्णबहादुर घर्तीका अनुसार प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुनेछ।
प्रदेश सभाको आगामी बैठक १९ गते मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ । संवैधानिक व्यवस्था अनुसार राजधानीको स्थान र नामाकरणबारे प्रदेशसभाको बहुमतले निर्णय गर्ने छ।
प्रदेश बनेको लामो समयसम्म पनि स्थायी राजधानी र नाम तोक्न नसकेको भनेर आलोचना भइरहेको थियो । यसअघि प्रदेशको राजधानी बुटवल बनाउन दबाब थियो। अहिले अस्थायी राजधानी बुटवलमैं रहेको छ।
केही समयअघि प्रदेश ३ ले स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको थियो। अब प्रदेश १ र २ को मात्र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ।