नेपालगन्जले पाउँदैन नेपालको बिजुली
Wednesday, July 7th, 2021, 8:30 am
Kalpristha
गौतमका अनुसार कोहलपुरमा रहेका ६३ एमभिए र ३० एमभिएका ट्रान्सफर्मरमध्ये नेपालगन्जमा ६३ एमभिएको ट्रान्सफर्मरबाट विद्युत आयात भइरहेको छ । तर उक्त ट्रान्सफर्मरमा भारतबाट आएको बिजुलीमात्रै जोडिएको छ ।
वीरेन्द्र जैसी
नेपालगन्ज, २२ असार
मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेलामा सहभागी विद्युत प्राधिकरण नेपालगन्ज डिभिजन प्रमुख सुभाष गौतमले नेपालगन्जमा विद्युत् आपूर्तिकै समस्या रहेको बताए । जब कि नेपालगन्ज विद्युत् वितरण केन्द्रका प्रमुख लखनलला मलिकले विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको बताउँदै आएका छन् ।
गौतमले मुख्य तीनवटा कारणले नेपालगन्जमा पटक-पटक विद्युत कटौति भइरहेको बताए । उनले पहिलो कारण भारतको बिजुलीमा मात्रै भर पर्नु रहेको बताए । गौतमका अनुसार हाल नेपालको कोहलपुर पश्चिमको क्षेत्रमा भारतको टनकपुरबाट आउने ८० मेगावाट विद्युत् खपतलाई पहिलो प्राथमिकतामा राखिने गरिएको छ । उनले भने, ‘भारतबाट आउने बिजुली प्रयोग गरेपनि नगरेपनि हामीले मुल्य तिर्नैपर्छ । त्यसकारण पहिलो प्राथमिकता भारतको बिजुली उपभोग गर्ने हो । तर भारतबाट सम्झौताअनुसार गुणस्तर र मापदण्डको विद्युत् नआइदिँदा नेपालगन्ज समस्यामा पर्छ ।’ गौतमका अनुसार कोहलपुरमा रहेका ६३ एमभिए र ३० एमभिएका ट्रान्फर्मरमध्ये नेपालगन्जमा ६३ एमभिएको ट्रान्सफर्मरबाट विद्युत आयात भइरहेको छ । तर उक्त ट्रान्सफर्मरमा भारतबाट आएको बिजुलीमात्रै जोडिएको छ । नेपालको बिजुली जोडिए पनि भारतको बिजुली उपलब्ध हुँदासम्म नेपालको बिजुली प्रयोग गरिँदैन । ‘नेपालगन्जको विद्युत् समस्याको दिर्घकालिन समाधान गर्ने हो भने नेपालको विद्युत् नै उपलब्ध हुने व्यवस्था गर्न्ुपर्छ । त्यसका लागि तपाईंहरु पनि दवाब दिनुहोस् । हामी पनि हाम्रो तहबाट सकिने काम गर्छौँ,’ गौतमले सहभागीहरुलाई भने ।
गौतमले बाँके नेपाल र भारत दुवतिरको विद्युत्का लागि अन्तिम विन्दु भएको बताउँदै त्यसले पनि नेपालगन्जले गुणस्तरीय विद्युत् पाउन नसकेको तर्क गरे । उनले दोस्रो कारणकारुपमा प्राधिकरण भित्रकै माथिल्ला निकायले विद्युत् काट्नुपर्ने अवस्थामा नेपालगन्जको लाइन काट्ने कुरालाई पहिलो प्राथमिकता दिने गरेको पनि खुलाए । ‘विद्युत् काट्नुपर्ने अवस्थामा नेपालगन्जकै लाइट काट्न निर्देशन आउँछ । हैन सर?,’ उनले वितरण प्रमुख मलिकको पनि सही लिँदै थपे, ‘किन सधैं नेपालगन्जको मात्रै काट्ने ? अब तपाईंहरुले पालैपालो अन्य ठाउँको पनि काट्ने गर्नुस् भनेर भन्न सक्नुपर्छ ।’
यसका साथै कोहलपुरस्थित ट्रान्सफर्मरको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता पनि गौतमले औँल्याए । दुवै ट्रान्सफर्मरलाई ६३ एमभिएकै बनाउनु आवश्यक रहेको उनको भनाई थियो । त्यसको काम सुरु भइसकेको र कोरोनाका कारण रोकिएको पनि बताए ।
सहभागीका गुनासा र जिम्मेवार अधिकारीका जवाफ सुनिसकेपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीले जडान गर्न वितरण बाँकी ट्रान्सफर्मरहरु असार मसान्तभित्र जडान गरिसक्ने, नेपालगन्जको विद्युत् समस्या समाधानका कारण, उपाय र उपभोक्ताका गुनासा माथिल्लो निकायमा लेखिपठाउन एवं समस्या समाधानमा आफ्नो तहबाट हुने काम गम्भिरतापूर्वक सम्पादन गर्न गौतम र मलिकलाई निर्देशन दिए । साथै, नीतिगतरुपमा सम्बोधन गर्नुपर्ने समस्या समाधानका लागि आफूले पनि पहल गर्ने र सामाजिक अगुवाहरुले पनि दवाब दिन आग्रह गरे । छलफलका निणर्यहरुलाई लिखित प्रतिबद्धताकारुपमा सार्वजनिक गरिने सहमति भएको थियो ।
छलफलपछि पाँच बुँदे लिखित प्रतिबद्धता गरिएको छ । जसमा १० दिनभित्र जडान गर्न बाँकी ट्रान्सफर्मर जडान गर्ने, विद्युत कटौति हुँदा नागरिकलाई जानकारी दिने, गुनासोको तत्काल सुनुवाईका गुनासो सुनुवाई कक्ष स्थापना गर्ने, राष्ट्रिय प्रशारणबाट पर्याप्त विद्युत उपलब्ध गराउन माग गर्ने, भारतबाट ८० मेगावाट बिजुली आयात भइरहेको र उक्त बिजुली कोलपुरस्थित नेपालगन्जको लाइनमा रहेको ६३ एमभिएको ट्रान्सफर्मरमा जडान गरिएकोमा त्यसमा नेपालको विद्युत्र जडान गर्न प्राधिकरणको केन्द्रमा माग गर्ने र नेपालगन्जका फिडरमा लाइन काट्न केन्द्रबाट निर्देशन नदिन अनुरोध गर्ने लगायत उल्लेख छ ।
यो पनि पढ्नुहोस् :
‘सबै घरमा इन्भर्टर राख भन्न खोज्नुभएको हो ?’
यो पनि पढ्नुहोस् :
सुध्रिएन नेपालगन्जको विद्युत् सेवा : के कृत्रिम कटौति भइरहेको हो ?