कोहलपुरमा गुन्जिए माटोको सुगन्ध बोकेका कविता
Saturday, October 2nd, 2021, 8:35 pm
Kalpristha
-अमृता जैसी
पहिलो दिन तँ स्कुल जान नमान्दा सिस्नुले सप्काएको कहिल्यै नबिर्सेस्
तँलाई जिन्दगीको सिस्नुले नपोलोस् भनेर त्यसो गरेको हुँ ।
पढिनस् भने ओटालोबाट पर्सिखातमा खसालेको पनि नबिर्सेस्
तँलाई जिन्दगीले बम्मई नखसालोस् भनेर त्यसो गरेको हुँ ।
……….
यी पंक्ति शनिबार कोहलपुरमा आयोजित एक कार्यक्रममा कवि विपी अस्तुले वाचन गरेको हुन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको कविता वाचन कार्यक्रममा उनले ‘नखस्नु शिर्षकको कविता वाचन गरिरहँदा सभाहलको वातावरण शान्त थियो । सभाहलमा साहित्यकार एवं साहित्यप्रेमीहरुका आँखा र कान मन्चतिर केन्द्रीत थिए । कोहलपुरको एक होटलको सभाहलमा भेला भएकाहरु सम्मान, विमोचन र मन्तव्यका कार्यक्रममा खुसुरफुसुर र भित्रबाहिर गरिरहेका थिए । तर जब कविता सुन्ने पालो आयो सबै मन्च नजिकको कुर्सीहरु तिर सरे । करिब पौने घण्टा नेपालगन्जका विपि अस्तु र धादिङकी सुनिता खनालका कविता सुनिए ।
मध्य तथा सुदूर नेपालको एक बिडम्बनाको रुपमा रहेको छ बम्मई अर्थात् भारतको जागिर । हुन त देश नै वैदेशिक रोजगारीले बाँचेको छ । मुनामदनदेखि भाइबर र म्यासेन्जरको जमानामा आइपुग्दा पनि नेपालीहरुले वैदेशिक रोजगारीको बिडम्बनाबाट मुक्त हुन पाएका छैनन् ।
अरु देशमा वैदेशिक रोजगारीमा जानु र भारतमा रोजगारी गर्न जानुमा धेरै भिन्नता छ । त्यो भिन्नता कवि विपी अस्तुको कविता ‘नखस्नु’ले मसिनोगरी उजागर गर्छ ।

कवि विपी अस्तु
एउटा पिताले आफ्नो छोरालाई आफ्नो बम्मई खसाईको कथा सुनाउँदै गर्दाको पृष्ठभूमिका लेखिएको कविता हो ‘नखस्नु’ । जहाँ बम्मई खस्नुपर्नाका बाध्यता, खसेपछिका संघर्ष र त्यो संघर्षमा देखेका सपनाहरुको फेहरिस्त कविताले भन्छ । जहाँ नेपालीहरुले मूल्यहीन मृत्यु भोग्नुपरेको कथा छ ।
कवि अस्तुले आठ वटा कविता कार्यक्रममा सुनाए । उनका आठ वटै कवितामा उनी जन्मे हुर्केको माटो बोलिरहेको थियो । उनले कवितामा प्रयोग गरेका विम्ब र प्रतिकहरु गाउँका कुना कन्दरा, पानी पँधेरो र उकाली ओरालीबाट साभार गरिएका छन् । उनले ‘युद्ध मृत्युसँग’ शिर्षकको कवितामा भने,
………..
दृष्टिले उक्लिनै सक्दिन भनेको उकालोमा पनि
बोकेकै हुँ विश्वासको सामल
साहुले भोकै परोस् भनेर बक्सेको ढोणेनमा पनि
उमारेकै हुँ अमृतका पाथीहरु
……..
उनले कवितामै नजानिँदो पाराले दर्शन पनि बोले ।
……..
म एक योद्धा हुँ
मृत्युविरुद्धको
यो युद्ध मरिगए पनि जारी रहनेछ ।
………
कार्यक्रममा कवि अस्तुले ‘हिँडाई’, ‘विवशहरु’, ‘शान्ती’, ‘प्रेमकल्प’, ‘रोईदिएको भए’ लगायत शिर्षकका कविता वाचन गरे । उनका सबैजसो कविताहरुमा गाउँको धुन मिसिएर आएको कार्यक्रममा सहभागीहरुले प्रतिक्रिया दिए । कतिपयले कविता सुन्दा सुन्दै भावुक भएको सुनाए । ‘आफ्नो माटोको सुगन्ध भएन भने कवितासँग हृदय गाँसिएको जस्तो लाग्दैन,’ कवि अस्तु भन्छन् ।
नेपालगन्जमा रहेर पत्रकारिता गर्दै आएका कवि अस्तु अछाममा जन्मिएका हुन् । पछिल्लो समय कवि अस्तुका कविताको चर्चा नेपाली कविता पारखीहरुमाझ चुलिँदो छ । उनलाई कविता सुनाउन काठमाडौं, पोखरा, चितवन, सुर्खेत लगायतका सहरका विशेष मन्चहरु उभ्याइएको छ । ‘समकालिन समयमा सुन्दर कविता लेखिरहेका उनलाई उनी रहेको जिल्लामै यसरी सुन्ने मौका मिलेको थिएन । त्यही भएर हामीले उनलाई विशेष मन्चमा राखेका हौँ,’ पूर्णिमाका अध्यक्ष कपिल अन्जानले भने ।
अस्तुसँगै कार्यक्रममा धादिङ निवासी चर्चित कवि सुनिता खनालले पनि आठ वटै कविता सुनाइन् । उनले आमाको वैंश कवितामा भनिन्,
……..
हजारौं पटक डुबाएकी हुन् आफैँलाई
आफ्नै पसिनाको कुवामा
हजारौं पटक फुलाएकी हुन् आफूलाई
भीरकै रुखको हाँगामा
हजारौं पटक गाडेकी हुन् आफूलाई
आफ्नै सपनाहरूको चिहानमा ।
………

कवि सुनिता खनाल
कवि खनालको उनकै शब्दमा उनलाई चिनाउने कविता ‘ओ नायक’ले पनि कार्यक्रममा सहभागीहरुको ध्यान तान्यो । कवि खनालको सोही कवितालाई शिर्ष कविता बनाएर उनको ‘ओ नायक’ कविता संग्रह नै प्रकाशित छ । उक्त कवितामा खनाल भन्छिन्,
…………….
तिम्रो आवाज हिँडेको बाटो
डीलैडील फूलेका फूलहरू
तिम्रो गीतको लयमा उड्ने पुतली
तिम्रो कविताको गोहो पछ्याउने हज्जारौ योद्धा
तिम्रो प्रेम कथामा छुटेकी प्रियतमा
तिम्रो सपना बोक्ने गर्भ
सब पर्खिरहेका छन्
सब पर्खिरहेका छन्
भन, के छुट्यो तिम्रो सपनाबाट ?
……………………
बाँकेमा प्रायः बुहभाषिक कवि गोष्ठीहरु हुने गरेका छन्, जहाँ उपस्थित सबै कविहरुको कविता सुनिन्छन् । तीनको स्तरीयतामा त्यति ख्याल गरिँदैन । तर, चुनिएका कविहरुलाई मन्चमा राखेर उनीहरुका मात्रै कविता सुन्ने कार्यक्रमहरु कमै हुने गरेका छन् । पूर्णिमाको रचना वाचन विभागका संयोजक कवि हेम प्रकाश मन्जिलले अब यस किसिमका कार्यक्रमहरु नियमित रुपमा गर्ने जानकारी दिएका छन् ।