शायर शौक पुरस्कृत
Saturday, October 2nd, 2021, 9:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काहेलपुर, १६ असोज
यसवर्षको तुलसीराम स्मृति पुरस्कार वरिष्ठ उर्दू शायर अब्दुल लतिफ शौकलाई प्रदान गरिएको छ । कोहलपुरमा रहेको पूर्णिमा साहित्य प्रतिष्ठानले सात हजार सात सय ७७ रुपैयाँ राशीको पुरस्कार शायर शौकलाई प्रदान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सेनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शायर शौकलाई नेपालगन्जमा बसेर उर्दूभाषामा सृजनाहरु गर्दै भाषा सहित्यको दीर्घ सेवा गरेवाफत सम्मान गरिएको हो ।
त्रियासी वर्षीय शायर शौक १९९५ साल पुस ८ गते नेपालगन्जको भट्टीटोलमा जन्मिएका थिए । पेशाले सुनका कालीगढ रहेका शौक नेपालगन्जमा रहेका उर्दू शायरमध्ये सबैभन्दा पाका र सिद्धहस्त शायर मानिन्छन् ।
उनका शायरी र कविताका संग्रहहरु ‘महकते जख्म’, ‘मता ए शौक’, ‘लफ्जो के मोती’ र ‘सिसकने की सदा’ प्रकाशित छन् । सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त स्रष्टा शौक करिब पाँच दशकभन्दा लामो समयदेखि नेपालन्जका उर्दू गजलकारहरुको संस्था ‘गुलजार ए अदब’को नेतृत्व गर्दै आएका छन् ।
यसैगरी, सोही कार्यक्रममा दुईवटा कृतिको विमोचन पनि गरिएको छ । बद्री ढकाल हिरामणीको हाइकु संग्रह ठ्यौको र छवीलाल खड्काको मुक्तक संग्रह बिरौटोको विमोचन गरिएको हो ।
उक्त कार्यक्रमपछि दुईजना कविका कविताहरुको वाचन कार्यक्रम गरिएको थियो । कवि सुनिता खनाल र विपी अस्तुले आफ्ना एक दर्जनबढी कविताको विशेष वाचन थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य उषा पुनले नेपाली साहित्यलाई थप बलियो र सशक्त बनाउनका लागि राज्यले साहित्यमा लगानीमैत्री वातावरणको नीति लिन आवश्यकको रहेकोमा जोड दिँदै पूणर्िमा साहित्य प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।