लुम्बिनी कांग्रेस सभापतिमा अमरसिंह पुन निर्वाचित
Monday, December 6th, 2021, 7:58 am
Kalpristha
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर निर्वाचित भएका छन् । पुन संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन् । निर्वाचनमा एक हजार ६ सय ३१ मत खसेकोमा सभापतिमा निर्वाचित पुनले आठ सय ५२ मत पाएका छन् भने शाहले सात सय ६७ मत पाएका छन् । पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।
पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । दुई उपसभापतिमा संस्थापन इतरका गुल्मी निवासी भुवन श्रेष्ठ र संस्थापन पक्षका दाङ निवासी राजु खनाल निर्वाचित भएका छन् । संस्थापन इतरका रुपन्देहीका अष्टभुजा पाठक र संस्थापनका कपिलवस्तु निवासी सुधाकर पाण्डे पराजित भए ।
यस्तै महामन्त्रीमा नवपरासी पश्चिमका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए ।
महिला सह-महामन्त्रीमा निमा गिरी निर्वाचित भएकी छन् । उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन् । खुल्ला सह-महामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे निर्वाचित भए । बाँकेका माया पुन र लक्ष्मीनारायण शाह पराजित भए । शनिबार भएको मतदानको परिणाम आउन दुई दिन लागेको हो ।