शेरबहादुर देउवा दोस्रो पटक कांग्रेसको सभापति
Wednesday, December 15th, 2021, 5:56 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ मंसिर
शेरबहादुर देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दोस्रो चरणको निर्वाचनबाट डा. शेखर कोइरालालाई हराउँदै देउवा सभापति बनेका हुन ।
बुधबार काठमाडौंमा भएको मतगणनामा देउवाले शेखरलाई ८ सय ७८ मतले पराजित गरे । देउवाले २ हजार ७ सय ३३ मत ल्याउँदा शेखरले १ हजार ८ सय ५५ मत ल्याए । पहिलो चरणको निर्वाचनमा कांगे्रसको विधानले तोकेको स्पष्ट बहुमत(५१प्रतिसत) नआएपछि सभापति पदका लागि दोस्रो पटक निर्वाचन भएको थियो । त्यसमा ४ हजार ६ सय २३ जनाले मतदान गरेका थिए । ३५ मत बदर भए ।
पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । ७६ मत बदर भएको थियो । त्यतिबेला देउवाले २ हजार २ सय ५८ र शेखरले १ हजार ७ सय २ मत प्राप्त गरेका थिए । यसैगरी पहिलो चरणको निर्वाचनमा सभापतिका उमेदवारहरुमा प्रकाशमान सिंह, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कांग्रेसको विधान अनुसार सभापति पदमा पहिलो चरणको निर्वाचनमा स्पष्ट बहुमत नआए शिर्ष दुइ स्थानमा आउने उमेदवार बिच पुन दोस्रो चरणमा निर्वाचन हुने गर्छ ।
दोस्रो चरणको निर्वाचनमा शेरबहादुरलाई प्रकाशमान, बिमलेन्द्र र कल्याणले साथ दिएका थिए । यसअघि कांग्रेसको १३औं महाधिवेशनमा देउवाले रामचन्द्र पौडेललाई हराएर सभापति बनेका थिए ।
डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मेका देउवा पञ्चायतकालदेखि नै विद्यार्थी राजनीति सक्रिय थिए । उनी नेपालको सबै भन्दा धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्ति हुन । पाँच पटक देउवा प्रधानमन्त्री भैसकेका छन ।