कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणनाको तयारी
Wednesday, December 15th, 2021, 8:22 am
Kalpristha
नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ ।
निर्वाचन समितिले बाँकी मतगणना बुधबार अपरान्हदेखि सुरू हुने जनाएको छ । अब पदाधिकारीको मतगणाना हुने छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन समितिले जनाएको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।
महामन्त्रीमा ६-६ जना उम्मेदवार छन् । देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूणर्बहादुर खड्का उम्मेदवार छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार छन् । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही उम्मेदवार छन् ।
शेखरको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार छन् । सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ रहेका छन् ।
नेता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए । तर त्यो पनि सम्भव नभएपछि उनी अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।
अर्का नेता निधिका तर्पबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्की उम्मेदवार छन् ।
सहमहामन्त्रीमा सबै समूहबाट गरी २० जनाले उम्मेदवार छन् । जसमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कणर्, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङम्बे, जीवन बहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी, डीना (महालक्ष्मी) उपाध्याय रहेका छन् ।