सरस्वतीको कप्तानीमा लुम्बिनीको महिला क्रिकेट टिम
Wednesday, December 15th, 2021, 5:43 pm
Kalpristha
प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट खेलाडीको टिम घोषणा भएको छ । रुपन्देहीको भैरहवा सिद्धार्थ क्रिकेट खेल मैदानमा भएको प्रदेशस्तरीय छनोट प्रतियोगितबाट दाङकी सरस्वती घर्तीको नेतृत्वमा १४ सदस्यीय महिला क्रिकेट खेलाडीको टिम छनौट गरिएको छ । जसमा चार जना बैंकल्पीक सदस्यमा रहेका छन् । पहिलो पटक कप्तानीको जिम्मेवारी पाएकी सरस्वती दाङ निवासी खेलाडी हुन् । उनले रुपन्देहीमा भएको छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन ।
प्रदेशस्तरीय टिमको उपकप्तानमा सरस्वती पुन रहेकी छिन् । छनोट भएका खेलाडीहरुमा नेरी थापा, स्वस्तिका बजगाइँ, रञ्जु श्रेष्ठ, नितु भण्डारी, कृतिका मरासिनी, आश्मा पुलामी मगर, सुस्मिता भुसाल, सरु तिवारी, विभाश्ना विसी, लक्ष्मी चौधरी, मधु डिसी र कमला जिएमलाई छनोट गरिएको लुम्बिनी प्रदेश छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीका आधारमा सरस्वती जिएमलाई टिमको जिम्मेवारी दिएको बताए ।
उनका अनुसार वैकल्पिक खेलाडीमा सरीता जिसी, शर्मीला रोकामगर, अनिता चौधरी र सुस्मिता बजगाइँ रहेका छन् । प्रदेशस्तरीय टीमको प्रशिक्षकमा सञ्जु क्षेत्री र व्यवस्थापकमा उमा अधिकारी रहेका छन् । मंसिर २५ गतेदेखि २८ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । छनोट प्रतियोगितामा रुपन्देही च्याम्पियन भएको थियो भने दाङ उपविजेता बनेको थियो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ल मध्य रुपन्देही, दाङ बाँके र पश्चिम नवलपरासी जिल्लाका महिला क्रिकेट खेलाडी सहभागीता रहेको थियो ।
छनौटमा परेका खेलाडीहरुले यही पुसको ३ गतेदेखि ९ गतेसम्म धनगढीमा हुन लागेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा खेल्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता हुन थालेको हो । प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफ गरी ८ टोलीको सहभागी हुने भएका छन् । गतवर्ष प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता दाङको देउखुरीमा रहेको क्रिकेट मैदानमा भएको थियो ।