समृद्ध बाँकेका आधारहरु
Sunday, January 2nd, 2022, 8:01 pm
Kalpristha
–डा.राजेशकेशर खनाल (उप-प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज)
–कोशराज रेग्मी (उप-प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज)
–शंकरप्रसाद खनाल, (उप-सम्पादक, अन्नपूणर् पोस्ट् राष्ट्रिय दैनिक)
परिचय
लुम्बिनी प्रदेशमा तराईका जिल्लाहरुमध्ये बाँके प्रमुख व्यापारिक जिल्ला हो । जिल्लामा दुई नगर (नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका) र ६ गाउँपालिका (खजुरा, बैजनाथ, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुर) छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार बाँकेमा ४,९१,३१३ जनसंख्या रहेकोमा पुरूष २,४४,२५५ जना (४९.७१ प्रतिशत) र महिला २,४७,०५८ जना (५०.२९ प्रतिशत) छन् । यसअनुसार लंैिगक अनुपात अर्थात प्रति १०० महिलामा पुरूषको सङ्ख्या ९८.८७ रहको छ । २०५८ देखि २०६८ सालसम्मको वार्षिक सालाखाला जनसङ्ख्या वृद्विदर २.४२ प्रतिशत देखाएको छ । जिल्लामा हाल प्रति परिवार औषत ५.१८ जना सदस्य सङ्ख्या रहेको छ । यहाँ हिन्दु, इस्लाम, क्रिश्चियन, बौद्ध, किराँत, प्रकृति, जैन, शिख र बहाई ९ वटा धर्म मानिन्छ ।

तालिका १
जिल्लाको कूल क्षेत्रफलमध्ये करिव ५० प्रतिशत भू-भाग वन क्षेत्रले ओगटेको छ । यस जिल्लाको भू-भागमध्ये केही अंश चुरे क्षेत्रले ओगटेको छ भने अधिकांश भू-भाग तराइ छ । चुरे क्षेत्र समुद्र सतहदेखि ६१० देखि १२३६ मिटरसम्म अग्लो छ भने जिल्लाको बाँकी भू-भाग समुद्र सतहबाट १२७ देखि ६१० मिटरसम्मको उचाइमा छ ।
बाँकेको ऐतिहासिक पक्ष हेर्ने हो भने, सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत सुगौली सन्धीबाट गुमेको भू-भागमध्ये पुरस्कार स्वरुप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएका कारण यी जिल्लालाई नयाँ मुलुकका रुपमा चिनिन्छ ।
प्रधानमन्त्री जंगबहादुरले सन् १८६० भारतको लखनउको हजरतगञ्ज नामबाट प्रभावित भएर नेपालगन्ज सहर योजनाबद्ध रुपमा बसाएका थिए । नेपालगन्ज नेपालको छैठो सहर भएको इतिहासकारहरु दाबी गर्छन् । लामो समय साबिकको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश)को प्रमुख व्यापारिक केन्द्र रहेको नेपालगन्ज तराईको भने पहिलो सहर नै हो ।
बाँके वर्षौ अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यवसायिक ट्रान्जिट क्षेत्र बनेकोे थियो । पञ्चायतकालमा औद्योगिक क्षेत्र स्थापना भएर औद्योगिक उत्पादनले गति लिएपछि चामल, कथ्था मिल, सलाइ फेक्ट्री जस्ता उद्योगहरु सञ्चालनमा आए । जसबाट साबिक भेरी, कर्णाली, राप्ती, सेती र महाकाली अञ्चलका जिल्लाको आवश्यकता पूर्ति हुन्थ्यो ।
यहाँका उत्पादनहरु स्वदेशमा मात्र होइन भारत र तेस्रो मुलुकसम्म पैठारी हुन्थ्यो । विकास क्षेत्र विभाजन गर्दा साबिकको मध्यपश्चिमाञ्चलको क्षेत्रीय कार्यालय सुर्खेत भए पनि नेपालगन्ज प्रशासनीक केन्द्र नै थियो । संघीयता अघि क्षेत्रीय र अञ्चल कार्यालय नेपालगन्जमा थिए । संघीयताले केही कार्यालय सुर्खेत त केही बुटवल सारिए ।
उद्योग, कलकारखाना घटेनन् । ठूल्ठूला उद्योग थपिँदै गए । संघीयताले बाँके प्रशासनीक विभाजनमा ओझेलमा पर्यो । आर्थिक, बाणिज्य, पर्यटकीय, शैक्षिक र स्वास्थ्य हबका कारण जिल्लाको आर्थिक गतिविधि निरन्तर गतिशील हुनुले यसको गरिमा उच्च नै छ ।
२. समृद्धिका अवसरहरु
पश्चिमको व्यवसायिक केन्द्र बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमध्ये अहिले पनि आर्थिक, बाणिज्य, कृषि, पर्यटकीय क्षेत्र, शैक्षिक र स्वास्थ्य केन्द्रका कारण अग्रणी नै छ । संघीयतापछि प्रदेश राजधानी वा प्रशासनीक केन्द्र जहाँसुकै स्थापना गरिएको भए पनि विगतको औद्योगिक र व्यापारिक गतिविधिका कारण यसले आफ्नो विशाल विरासत कायमै राखेको छ ।
यहाँ भौतिक पूर्वाधारको आधार बनिसकेको छ । जसलाई समय सापेक्ष स्तरोन्नतीको खाँचो मात्र छ । कतिपय क्षेत्र ओझेलमा परेको वा प्राथमिकतामा नपरेको देखिन्छ । सो क्षेत्रलाई तदारुकताका साथ योजनाबाद्ध ढंगले अगाडि बढाएमा बाँकेलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रका रुपमा विकास गर्न सकिन्छ । त्यसतर्फ लाग्नुपर्छ ।
२.१. उद्योग
बाँके औद्योगिक क्षेत्र हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये पहिलो रुपेन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् ।

तालिका २
पहाडका जडिबुटी संकलन गरेर बाँकेमा प्रशोधन गरेर स्वदेश तथा विदेशमा बिक्री गर्न सकिन्छ । अहिले अधिकांश जडिबुटी लगायतका कच्चा पदार्थ संकलन गरेर कच्चा पदार्थकै रुपमा पैठारी भइरहेको छ । यसका लागि साबिक कर्णाली, राप्ती, भेरी, सेती र महाकाली अञ्चलबाट कच्चा पदार्थ संकलन गरी बाँकेका स्थापना गरिएका वा गरिने उद्योगका उत्पादनको बजारीकरण गर्न रेलमार्ग, राजमार्ग, हवाइ मार्गको व्यापक विकासमा जोड दिनुपर्छ ।
यो कार्यका लागि राज्यले ढुवानी वा कर छुट वा अनुदानको व्यवस्था गर्नुपर्छ । यस प्रक्रियाका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलगायत सम्बन्धित संस्थाहरुले दवाब दिने र पैरवी गरिरहेको छ । यसलाई अझ सशक्त रुपमा गर्नुपर्छ । राज्यले अनुदान, राहात वा छुट दिँदा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरुलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्नुपर्छ ।
औद्योगिक क्षेत्रमा विद्युतको अविच्छिन्न व्यवस्था गर्न फरक वितरण प्रणाली लागू गर्नुपर्छ । औद्योगिक क्षेत्रभित्र स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर, निश्चित अवधिसम्म भूमिको भाडा, पानी, विद्युत आदिको छुट गर्नुपर्छ ।
भारतको रुपैडियादेखि चीनको हिल्सा नाका कर्णाली कोरिडोर हुँदै विकास गर्न सकेमा त्रिदेशीय व्यापारिक सम्बन्ध कायम हुन्छ । यसले समग्र बाँके जिल्ला समृद्ध बन्ने आधार बन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघले माग गरे झैं नेपालगन्जलाई औद्योगिक राजधानीका रुपमा विकास गरेर संघीयताबाट परेको मारमा मल्हम लगाउन सकिन्छ । त्यसका लागि जिल्लाको हरेक पालिकामा औद्योगिक कोरिडोर निर्माण गर्नुपर्छ ।
२.२. बाणिज्य
पश्चिम क्षेत्रमा विगतमा नेपालगन्ज, राजापुर, गोलाघाट, कटासे प्रमुख व्यापारिक केन्द्र्र थिए । खाद्यान्न लगायतका वस्तुको लागि राजापुर क्षेत्र केन्द्र भए पनि औद्योगिक उत्पादनका लागि नेपालगन्ज नै प्रमुख बजार थियो । पहाडी जिल्लाबाट किनमेल गर्न आउने व्यापारी/यात्रीले स्थानीय उत्पादन नेपालगन्जमा बिक्री गर्ने गर्थे र खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका बस्तुहरु खरिद गरेर लैैजान्थे ।
भारतबाट आयात गरिएका वस्तुहरु तिब्बतसम्म लगेर व्यापार गरिन्थ्यो । त्यत्तिबेला नेपालको तिब्बतसँगको व्यापार नाफा थियो । परापूर्वकालदेखि नै तिब्बत र भारतीय सामानको आयात निर्यात गर्न कर्णालीवासीका लागि बाँके व्यापारिक केन्द्र थियो । भारतीय बजार रुपैडिया, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, गोलाघाट हुँदै कर्णालीका जिल्लाबाट तिब्बतको हिल्सासम्म हुने गथ्र्यो । जुन मार्ग अहिले कर्णाली करिडोरको रुपमा विकसित हुँदैछ ।
विगतमा नेपालगन्ज मात्र केन्द्र भए पनि समयक्रममा अहिले कोहलपुर, खजुरा, रिमझिम चोक, बनियाभार, गाभर, कुसुम, अगैया, ढकेरी, बैजापुर, नरैनापुर, चिसापानी बजार, मिलन चोक, बनकटवा, सम्झना बजारलगायत क्षेत्रहरु आर्थिक केन्द्रका रुपमा विस्तार भइरहेका छन् ।
संघीयतापछि गाउँगाउँमा बजार क्षेत्र विस्तार भएको छ । सो क्षेत्रमा व्यवसायीहरु संगठित भएका छन् । २०२४ सालमा जिल्लामै नेपालगन्ज उद्योग वाणिज्य संघ (जिल्ला) स्थापना भयो । कोहलपुर उद्योग वाणिज्य संघ (नगर स्तरीय) संघ गठन गरिएको छ ।
जिल्ला संघको मातहतमा हरेक पालिकामा उद्योग वाणिज्य संघ गठन गर्नुपर्छ । गाउँगाउँमा उत्पादित कृषि उपज बिक्री गर्न विशिष्ठ एकीकृत कृषि बजारको जिल्लाको केन्द्र र हरेक पालिकाका विभिन्न स्थानमा व्यवस्था गर्नुपर्छ ।
तयारी पोशाक, अटो, खाद्यान्न, पेय पदार्थ, जडिबुटी, काष्ठ व्यवसायलगायतको एकीकृत र विशिष्ठ बजारको सञ्चालनमा जोड दिनुपर्छ । बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायित्व बहन गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्ने तरिकाले विकास गर्नुपर्छ ।
पश्चिमकै ठूलो भन्सार नाका नेपालगन्जको जमुनाहामा खुलेपछि आयात निर्यातमा सहजता भएको हो । जमुनाहा नाकामा अहिले आइसीपी निर्माणाधीन छ । बेला बेलामा सुख्खा बन्दरगाहको चर्चा हुने गरे पनि सञ्चालनमा चासो देखाइएको छैन ।
त्यसो त, बाँकेमा साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सार स्थापना गरेर आयात निर्यात सहज बनाइएको थियो । यद्यपी सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका अधिकांश छोटी भन्सार सञ्चालन नहुँदा चोरी निकासी बढेको छ । खुद्रा व्यवसायदेखि ठूला व्यवसायसम्म सबैलाई अनिवार्य दर्र्ता प्रक्रियामा लगेर व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउनु पर्छ । व्यवसायीहरुलाई करको सीमा कारोबारको आधारमा निर्धारण गर्ने व्यवस्था गर्नुपर्छ ।
सीमामा आवागमन व्यवस्थित गर्न अनिवार्य रुपमा परिचय पत्र लागू गर्नुपर्छ । ‘फोहरमुक्त व्यवसाय’ कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
२.३. पर्यटन
बाँकेमा थुप्रै पर्यटकीय क्षेत्र छन् । पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो तर यसको उचित प्रचारप्रसार हुन सकेको छैन । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा शक्तिपीठ माता बागेश्वरीको मन्दिर अर्को पर्यटकको गन्तव्य हो । विश्वमै नभएको जुंगे खडेश्वर महादेवको मन्दिर पनि पर्यटकलाई आकर्षित गर्न सक्छ ।

तालिका ३
भुवंर भवानी देवीको मन्दिर, कम्मरशाह बाबा, इदगाहा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि यस जिल्लाका थप आकर्षणका विन्दुहरु हुन् । यसैगरी महेन्द्रपार्क मिनि चिडियाघर, रानी तलाउ, वाटर पार्क, कान्ति ताल पनि प्रमुख पर्यटकीय क्षेत्र हुन् । राप्ती नदी किनार क्षेत्र, ढकेरी, अगैया, गाभर, नरैनापुर क्षेत्र, कम्मरशाह, सहायक केन्द्र बन्नसक्छन् ।
व्यवसायिक रुपमा सञ्चालन भए पनि मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वण्डरल्याण्ड पनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक छन् । कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमको ठूला कार्यक्रमहरु नेपालगन्जका होटलले धानेका थिए । पश्चिम नेपालको आर्थिक हब भए पनि संघीयताले यहाँको होटल व्यवसायसँगै बाँकेको समग्र व्यापार व्यवसाय मारमा पर्यो ।
होटल व्यवसाय त धरासायी हुने अवस्थामा नै पुग्यो । संघीयताले होटल व्यवसायमा लागेको घाउमा मल्हम लगाउने काम मानसरोवर यात्राले गरेको छ । भारतीय पर्यटकहरूलाई नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुनेभएपछि तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्नुपर्छ । तत्काल नेपालगन्ज-दिल्ली उडानको पहललाई सार्थक बनाउन सके यसले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिनसक्छ ।
नेपालगन्ज विमानस्थलको गुरुयोजनालाई तत्काल कार्यन्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको बाँकेमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने हो भने बर्दिया राष्ट्र्रिय निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको अन्य पर्यटकीय स्थलसँग बाँके पर्यटन द्वार बन्नसक्छ ।
त्यसका लागि जिल्लामा ४ दर्जन बढी टुर्स एण्ड ट्राभल्स एजेन्सी खुलेका छन् । स्टार र स्टार लेभलका होटल र ४ वटा सामुदायिक होमस्टेले पर्यटकलाई सेवा दिइरहेका छन् । बाँकेका अन्य सांस्कृतिक पहिचान बोकेका समुदायहरुमा पनि होमस्टे विस्तार गर्नुपर्छ ।
बाँकेका कुनै पनि स्टार वा स्टार लेभलका होटलहरुमा अनिवार्य रुपमा एउटा स्थानीय स्वादको परिकारहरुको रेष्टुरेन्ट हुनै पर्ने बाध्यात्मक व्यवस्था हुनुपर्छ । (जस्तै : नेपालगन्जको चाट, रावडी, बिरयानी, सेकुवा, चिया आदि) । बाँकेको मिलनविन्दु नेपालगन्ज सहरको ऐतिहासिक स्थान त्रिभुवन चोक आसपास समेट्ने गरी वकिङ स्ट्रिट (पैदल मार्ग) को रुपमा विकसित गरिनुपर्छ ।
२.४. अन्य समृद्धिका आधारहरु
- कृषि क्षेत्र : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले कृषि उद्योगको सम्भावना बढाएको । कृषि पकेट क्षेत्र विस्तार र बजारीकरण आफैले खोल्नुपर्छ । तरकारी र खाद्यान्नलाई आत्मनिर्भर बनाउनुपर्ने । अर्गानिक खेतीमा जोड दिनुपर्ने ।
- शिक्षा क्षेत्र : बाँकेमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्नुपर्ने । विदेशमा पढ्न जाने विद्यार्थीलाई रोक्ने खालका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने । स्थानीय उद्योग, व्यापार र सेवालाई चाहिने जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम वा व्यवसायिक सीपमूलक तालिम सञ्चालनमा जोड दिनुपर्ने ।
- स्वास्थ्य क्षेत्र : भेरी अस्पताललाई विशिष्ठिकृत अस्पतालसँगै शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्ने
- पूर्वाधार विकास : रेलमार्ग, हुलाकी राजमार्गको विस्तार, नेपालगन्ज र कोहलपुरमा छुट्टाछुट्टै चक्रपथ निर्माण, पूर्वाधारको स्तरोन्नती र ग्रामीण भेगमा पनि भौतिक पूर्वाधार विकासमा जोेड
- ग्रीन र डिजिटल सिटी : नेपालगन्ज, कोहलपुर, खजुरालाई ग्रीन सिटी र डिजिटल सिटीका रुपमा विकास गर्दै स्मार्ट सिटी बनाउनुपर्ने ।
सन्दर्भ सामग्री :
- जोशी, सत्यमोहन (२०२८ पहिलो संस्क.) कणर्ाली लोक संस्कृति-१, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।
- रेग्मी, सनत (२०७४) म जन्मिएको सहर, नेपालगन्ज उत्सव : नेपालगन्ज : क्रियटिभ बुक्स पृ.९ ।
- पिटर, नरेन्द्रजंग (२०७४) नेपालगन्ज र ऐतिहासिक सेरोफेरो , नेपालगन्ज उत्सव : नेपालगन्ज : क्रियटिभ बुक्स पृ.११-१५ ।
- खनाल, डा. राजेशकेशर (२०७५), बाँके जिल्ला पश्चिम नेपालको आर्थिक केन्द्रः सम्भावना तथा चुनौतीहरु, बार्षिक साधारणसभा स्मारिका, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ ।
खनाल, शंकरप्रसाद (२०७७) बेवास्तामा औद्योगिक राजधानी , टक्सार, काठमाडौं ः बोधी सञ्चार प्रालि ।
- खनाल, शंकरप्रसाद (२०७८, कार्तिक) आन्तरिक पर्यटकले थेगे स्टार होटल , टक्सार, काठमाडौं : बोधी सञ्चार प्रालि, पृष्ठ ५६-५९ ।
- बाँके जिल्लाको गाउँपालिका नगरपालिका प्रोफाइल (२०७४) केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क कार्यालय नेपालगन्ज बाँके ।
- नेपालमा भन्सारको इतिहास (सन् २०१९) काठमाडौं : भन्सार विभाग ।
- प्र्रादेशिक महोत्सव स्मारिका (२०७४) नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ ।
- अर्थ समृद्धि बुलेटिन (२०७२) नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ ।
- मध्यपश्चिमाञ्चल उद्योग, व्यापार एवं जडिबुटी प्रदर्शनी मेला तथा बाँके पर्यटन महोत्सव (२०७०), नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ ।
- मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सव (२०७२), नेपालगन्ज : नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ ।
- प्रदेश ५ को वस्तुस्थिति विवरण (२०७५), बुटवल : प्रदेश सरकार प्रदेश नं. ५ प्रदेश योजना आयोग ।
- शर्मा, देवीप्रसाद (२०७५) नेपाल र चीनको तिब्बतबीच सम्बन्ध विस्तारमा भन्सारको भूमिका, भन्सार स्मारिका २०७५, काठमाडौं : भन्सार विभाग, पृष्ठ ७६ ।
- नेपाल राष्ट्र बैंक, आर्थिक गतिविधि अध्ययन अर्ध-वार्षिक प्रतिवेदन ०७३/७४
राष्ट्रिय जनगणना-२०६८
नेपालगन्ज उद्योग वाणिज्य संघको ५४औं स्थापना दिवसको अवसरमा १७ पुस २०७८ मा नेपालगन्जमा आयोजित समृद्ध बाँकेका आधारहरु विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत आधारपत्र