गलत हल्लाका कारण निर्वाचन कार्यालय बाँकेमा भिड (भिडियोसहित)
Sunday, January 2nd, 2022, 8:30 pm Kalpristha
आइतबार निर्वाचन कार्यालय बाँकेमा मतदाता नामावली दर्ता गर्ने र अद्यावधिक गराउनेहरुको भिड लाग्यो । मानिसहरु बिहान ७ बजेदेखि नै कार्यालय बाहिर जम्मा हुन थाले ।
बाँकेका विभिन्न गाउँबाट मानिसहरु नेपालगन्ज ओइरिए । एकाएक सेवाग्राहीहरु बढेपछि निर्वाचन कार्यालयले चाप थेग्न सकेन । सुरक्षाकर्मीको सहायतामा भिड व्यवस्थापन सुरु गरियो । मुटु कमाउने चिसोमा दिनभर नागरिकहरु सडकमा लाइन लागे । युवादेखि ज्येष्ठ नागरिकसम्म एउटै लाइनमा उभिनुपर्ने बाध्यता भयो । उभिदा-उभिँदै थोकपछि ज्येष्ठ नागरिकहरु चिसो भुईँमै बस्न बाध्य भए ।
यसरी एकाएक निर्वाचन कार्यालमा सेवाग्राहीको भिड लाग्नु र नागरिकले दुःख पाउनुका पछाडि गलत हल्लाले काम गरेको निर्वाचन कार्यालयले जनाएको छ । नामावली दर्ता गर्ने अन्तिम दिन आइतबारसम्म मात्रै भएको हल्लापछि जिल्लाका ग्रामीण क्षेत्रसहित नपालगन्जका मतदाता र अद्यावधिक गराउन चाहने सेवाग्राहीहरु कार्यालयमा ओइरिए ।
गलत हल्ला फैलाउनमा राजनीतिक दलका नेताहरुदेखि जनप्रतितिनिधिहरु नै अघि देखिए । उनीहरुले मतदाताहरुलाई आइतबारसम्म मात्रै नामावली गर्न पाइने बताएको कार्यालयमा पुगेकाहरु बताउँदै थिए । बाँकेको बैजनाथ गाउँपालिकाकाबाट त जनप्रतिनिधिले नै बस रिजर्भ गरेर केही मतदातालाई नेपालगन्ज पुर्याए । आगमी निर्वाचनमा मतदाता रिझाउने नाममा उनीहरुले नागरिकहरुलाई गलत हल्ला फैलाएर नेपालगन्ज पुर्याएको पाइएको छ ।
वास्तवमा मतदाता नामावली दर्ता निर्वाचनको घोषणा नगरिउन्जेलसम्म निरन्तर चल्ने प्रकृया हो । निर्वाचन कार्यालय बाँकेले नागरिकको सहजताका लागि भनेर जिल्लाका स्थानीय तहमै पुगेर नामावली संकलन गर्ने उदेश्यले अभियान सन्चालन गरेको थियो । उक्त अभियानको अन्तिम दिन आइतबार थियो । आइतबार पछि नेपालगन्ज र कोहलपुरमा मात्रै नामावली संकलन हुनेछ ।
निर्वाचन कार्यालयले मंसिर १७ गतेदेखि नेपालगन्ज र कोहलपुर बाहेकका सबै स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन गरेको थियो । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीका अनुसार पहिलो चरणमा खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा नामावली संकलन गर्न टोली खटाइएको थियो ।
यी तीन स्थानीय तहका केन्द्रमा शुक्रबारदेखि पुस २ गतेसम्म १५ दिन लगाएर नामावली संकलन गरिने छ । त्यसपछि पुस ४ गतेदेखि १८ गतेसम्म डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा मतदाता नामावली संकलन भएको छ । सुवेदीका अनुसार अभियानका क्रममा करिब २५ हजार नागरिकको स्थानीय तहमै नामावली संकलन भएको छ ।
कार्यालयको दर्ता गर्ने क्षमता एक दिनमा चार सय जनाको मात्रै भएकोले एक्कासी धेरै सेवाग्राही आउँदा व्यवस्थापन असहज हुने र नागरिकले पनि दुःख पाएको उनले बताए । यसबारे सही सूचना सम्पे्रषण गरिदिन उनले सबैमा अनुरोध गरेका छन् ।
निर्वाचन कार्यालय बाँकेमा हाल मात्र सातजना कर्मचारी छन् । तीमध्ये एकजना मात्रै कम्पुटर अपरेटर छन् । जसकारण कामको गति पनि सुस्त रहेको छ ।