नेपालगन्जमा वर्षकै न्यून तापक्रम
Thursday, January 20th, 2022, 2:05 pm
Kalpristha
*फाइल तस्बिर
बिहीबार नेपालगन्जका यसवर्षकै न्यून तापक्रम भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार नेपालगन्जको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियसमा झरेको छ ।
मंगलबारसम्म यो तापक्रम १० डिग्री सेल्सियस थियो । न्युनतम तापक्रम घट्दा चिसो बढी महसुस हुने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिए । यद्धपि नेपालगन्जमा ०.३ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको रेकर्ड छ । सन् २०१३ जनवरी १० मा नेपालगन्जको तापक्रम ०.३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
पराजुलीका अनुसार नेपालगन्जको न्युनतम तापक्रम शनिबारसम्म घट्दै जानेछ । बिहीबार रातीबाट देशभर पश्चिमी वायुको अधिक प्रभाव परेका कारण हल्कादेखि मध्यम वर्षा भइरहेको उनले बताए । यो प्रभाव शनिबारसम्मै कायम रहने जनाइएको छ । लगातार न्युनतम तापक्रम घट्दा त्यसको जनजीवनमा प्रभाव पनि बढ्ने पराजुलीले बताए ।
पश्चिमी वायुका कारण नेपालगन्जमा १० देखि २० मिलिमिटर पानी पर्ने सम्भावना रहेको जनाइएको छ । आइतबारबाट मौसममा सुधार आई पुनः तापक्रम बढ्ने सम्भावना रहेको उनले बताए ।
*थपिएको