जेष्ठ नागरिकलाई न्यानो सामाग्री दिँदै डुडुवा
Friday, January 21st, 2022, 5:30 am
Kalpristha
डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गर्ने कार्य जारी राखेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (ब्लान्केट), च्यवनप्राश वितरण गरिरहेको छ ।
यसका साथै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलो र दोस्रो त्रैमासिक साउनदेखि पुससम्मको भत्ता वितरण लिने व्यवस्था मिलाइरहेको छ ।
बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक-एक वटा बलान्केट र च्यवनप्राश वितरण गरी घरैसम्म पुर्याउने गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले अहिले चिसो मौसममा न्यानो कपडाले मद्दत पुर्याउने विश्वास व्यक्त गरे । उनले अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने पनि बताए ।
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरी दुई हजार सात सय २८ जनालाई कम्बल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताएका छन् ।
बिहीबारसम्म एक हजार एक सय जनालाई उक्त कम्बल वितरण गरिएको छ । वितरण कार्यमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत खटिएका छन् ।