समाजवादको आधार शिक्षा र स्वास्थ्यः पुर्व मन्त्री योगेश
Friday, March 11th, 2022, 10:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ फागुन
पुर्व मन्त्री एवम् नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादको मुख्य आधार शिक्षा र स्वास्थ्य भएकोले यसको सुधार जरुरी रहेको बताएका छन ।
शुक्रबार नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेले आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले समाजवादलाई बलियो बनाउनका लागि शिक्षा र स्वास्थ्यले महत्वपुर्ण भुमिका खेल्ने बताए । समाजवादको आधार नै स्वास्थ्य र शिक्षा रहेको उनले बताए ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि पार्टीले स्वास्थ्यकर्मीबाट सुझावको अपेक्षा गरेको बताउँदै नेता भट्टराईले नागरिकको स्वास्थ्यको सवालमा एमालेले सधै सवाल उठाउने गरेको बताए । उनले भने,‘स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता छ । पुर्वाधारमा विकास हुनु पर्छ भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेर अगाडी बढेको छौं । कोभिडको पहिलो चरणमा हाम्रो सरकारले पुर्वाधारसँगै सेवा सुविधाको वृद्धि गरेको थियौं ।सुविधाको हाहाकार भएका बेला कांग्रेसका साथीहरुले ठाक्टरलाई हडतालमा उतारे । तर अहिले सहज अवस्थामा पनि सरकारले काम गर्न सकेको छैन ।’
अहिलेको सहज अवस्थामा पनि देशको आधा जनसंख्याले कोभिडको भ्याक्सिन लगाउन नपाएको उनले बताए । उनले थपे, ‘हामीले छुटयाएको पुर्वाधार बजेट पनि अहिले कटौती भएको छ । अक्सिजन प्लान्ट व्यवस्था गरेका थियौं । कयौं अस्पतालमा भेन्टिलेटर थिएन । सिमानामा क्वारेन्टाइन बनायौं । आज अनुकुल अवस्थामा पनि सरकार काम गर्न चुकेको छ । दायित्वबाट बिमुख छ । स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई अतिरिक्त भत्ताको व्यवस्था गरौं । त्यो अझै कसैले पाएका छैनन । त्यो पाउनु पर्छ ।’
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, पशुपति दयाल मिश्र, दिपा शर्मा, शान्ति ढकाल,
नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपति, सचिव रत्न खत्री, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका अध्यक्ष राम बहादुर चन्द,राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँके अध्यक्ष राजन शाही लगायतको उपस्थिती रहेको थियो ।