बन्द प्रशिक्षणमा महिला क्रिकेटर
Monday, March 14th, 2022, 9:03 pm
Kalpristha
यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि कर्णाली–लुम्बिनी प्रदेशका खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका छन । धनगढीमा आगामी चैत ६ देखी ११ गते सम्म यु–१९ महिला क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सात प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन ।
नेपाल क्रिकेट संघ(क्यान)ले प्रतियोगिताबाट छानिएका खेलाडीलाइ अन्तराष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा बोलाउने कार्यक्रम बनाएको छ । धनगढीमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य सहित अहिले कर्णाली र लुम्बिनीको संयुक्त टोली अभ्यासमा व्यस्त छ ।
नेपालगन्जमा फागुन अन्तिम सातादेखी सुरु भएको प्रशिक्षणमा लुम्बिनी प्रदेशका २४ खेलाडीले प्रशिक्षण गरिरहेका छन । प्रशिक्षणमा हाल लुम्बिनी प्रदेशका खेलाडीमात्र सहभागी भएको कर्णाली–लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापाले बताए । उनले भने,‘प्रशिक्षण फागुनको अन्तिम सातादेखी सुरु भएको छ । अहिले हामीले नेपालगन्जका दुइ स्थानमा प्रशिक्षण राखेका छौं ।’ महिला खेलाडीको प्रशिक्षणमा नेपाली सेनाका प्रमुख सेनाली जनमत कार्की र ज्योती एकेडेमीले सहयोग गरिरहेको अध्यक्ष थापाले बताए ।
राझाँ स्थित आर्मी मैदानमा खेलको अभ्यास गरिरहेका महिला खेलाडीले धम्बोझी रहेको ज्योती एकेडेमीमा नेट अभ्यास गर्ने गरेको अध्यक्ष थापाले बताए । हाल नेपालगन्जमा भैरहेको प्रशिक्षणमा लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, दाङ, बाँके लगायतका खेलाडी सहभागी छन । कर्णाली प्रदेशका खेलाडी केहि दिनमै बन्द प्रशिक्षणमा सहभागी हुनेछन । बन्द प्रशिक्षणबाट प्रतियोगिताका लागि १४ खेलाडी छनोट हुनेछन । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षक दिपेन्द्र प्रताव सिंहले प्रशिक्षण दिइरहेका छन ।