रनभुल्लमा कांग्रेसगण
Tuesday, March 15th, 2022, 6:40 pm
Kalpristha
अंकुश रेग्मी
हालै सम्पन्न नेपाली कांगे्रसको १४औं महाधिवेशन को सन्दर्भमा बाँकी रहेका १६ वटा जिल्लाको अधिवेशनमा चर्चाको शिखरमा रह्यो बाँकेको अधिवेशन । पश्चिम नेपालको एक महत्वपूर्ण जिल्ला बाँकेको जिल्ला अधिवेशनका विभिन्न चरणमा जे–जुन ढंगको दृश्य देखिए, धेरै सहभागीका निम्ति नौलो अनुभव दिने खालको रह्यो । पार्टीका केन्द्रीय तहका व्यक्तित्वको आगमनसँगै बाँकेका कांग्रेसगण वृहत्त् तरंगित हुनुका साथै सत्ता शक्तिको पृथकीकरण र शक्तिको केन्द्रीकरणको चलखेलमा निथ्रुक्क भएको असर अधिवेशन सकिएको दस दिन बित्दा पनि त्यसको धङधङी कार्यकतामाझ रहेको हेर्न सकिन्छ । विभिन्न चरणमा भएको पार्टी निर्वाचन तथा जसरी पनि विजय हासिल गर्नुपर्ने मान्यतामा रहेकाहरुका कारण संगठनभित्र चलेको अस्वस्थ प्रतिस्पर्धाले गर्दा प्रतिबद्ध कार्यकर्ताहरु यो एकताको अधिवेशन नभई अन्त्येष्टिको अधिवेशन बन्ने त होइन भन्ने सम्मको प्रतिक्रिया व्यक्त गर्न थालेका छन् ।
सुशील कोइराला जस्ता आदर्श पात्रको गृहजिल्लाले परिचित बाँके कांगे्रसमा पैसा नै आफ्नो इमान–धर्म भन्नेहरुको चोरबाटोबाट प्रवेशपछि रकमी चलखेलको रापबाट कोइराला परिवार पनि प्रभावित बनेको चर्चा बेलाबखत कार्यकतामाझ चलेको पाइनु अधिकाँशका निम्ति सहजै पाच्य नहुनु अस्वाभाविक होइन । सुशील कोइराला केन्द्रीय तहमा भइरहँदा बाँकेमा डा. अरुण कोइरालापछि विरासतको रुपमा कोइराला परिवारमै हस्तान्तरित नेतृत्वको कमीकमजोरीका कारण कांगे्रसको डुंगा डगमगाइ रहेको स्थितिमा राजनीति गर्न पैसा चाहिने दर्शनले सोझो कार्यकर्ताका मनमा ठाउँ बनाउन पुग्नु दुर्भाग्यपूर्ण ठानिनु पर्दछ । गहिरोसँग अध्ययन गरेका केही भन्छन्, पार्टीमा शक्ति, सत्ता र धनको खेल सुरु भएको छ । अब पार्टीलाई सैद्धान्तिक ढंगले सजिलै उँभो लगाउने कम्ति कठिन छैन ।’
पार्टीभित्र विकृति, विसंगति बढाउने जिम्मेवार , पालिका प्रमुखमा पदासीन हुन असमर्थ व्यक्ति पार्टी संगठनमा वडामा ५० भोट कटाउन नसक्ने नेतालाई आफ्नो पैसाको बलमा अघिपछि लगाएर पार्टीमा आफ्नो ठाउँ बनाउन लाग्दै रहेको देख्नेहरु प्रायः अचम्भि
छन् । अर्कोतिर विभिन्न कानुन विपरीतका गतिविधिमा संलग्नता भएको भनी आरोपित पात्र जसले माथिल्लो तहसम्म पहुँच भएकालाई आफ्नो सुरक्षा कवचको रुपमा हेर्थे, त्यो क्रणको ब्याज अहिले सम्म चुकाउने उनको निरन्तरता कायमै छ ।
स्वर्गीय सुशील कोइरालालाई भाइराजापछिको हमाल पुस्ता कहिल्यै मन नपरेको भनाइ हमाल परिवार सदस्यहरुबाट नै खुल्ला रुपले प्रकट हुँदै आएको छ, जसमा धेरै हद्सम्म यथार्थ लुकेको पाइन्छ । त्यही कारण हमाल बन्धुको निकटतम रहेकामध्ये डुडुवा नरेशप्रति पनि कोइरालाको वक्रदृष्टि रहँदै आएको थियो । पार्टीको दसौं महाधिवेशनपछि देउवा समूहद्वारा बोलाइएको विशेष महाधिवेशन मा सहभागी हुने र नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्न बल दिने बाँकेका १७ भाइमध्ये १ हस्ताक्षर डुडुवा नरेशको पनि भएको थाहा पाएका कोइरालाका निम्ति सह्य हुने कुरो पनि होस् कसोरी ? समयचक्र चल्दै जाँदा बेतहनी, वनकट्टी, होलिया क्षेत्रमा एक विश्वासपात्रको खोजी भैरहेको अवस्थामा डुडुवा नरेश एउटा चक्रवातमा फसेका समय सुशील कोइराला प्रधानमन्त्री हुनुले अप्रत्यक्ष दिइएको अभयदानको गुनको भारमुनि थिचिन पुगे । त्यही ऋणभारका कारण जस्तोसुकै हुरी, बतास चल्दापनि कोइराला परिवारप्रति डुडुवा नरेशको अगाध स्नेह रहेको उनैको मुखारविन्दबाट सुन्न सकिन्छ ।
बाँकेमा कुनै समय कांग्रेस जोगाउन महत्वपूर्ण योगदान दिनेमा रणेन्द्रबहादुर हमाल (भाइराजा)को चर्चा चलेझैँ कांग्रेसभित्र देउवा गुटप्रति जस्तोसुकै विषम परिस्थितिमा पनि मोहभंग नगरेका गजेन्द्र–सुरेन्द्र हमालले १४औं महाधिवेशनसम्म आइपुग्दा विरासत जोगाउन आफ्नोमात्र बुता बाहिरको भएको बुझेर झोलामा ‘पकेटभोट’ भरेका डुडुवा नरेशसँग सम्बन्ध प्रगाढ बनाएको स्पष्ट छ । त्यतिमात्र नभइ डुडुवा नरेशसँग १०० को हाराहारीमा मत रहेको बुझेका प्रायः हरेकले नाता गाँस्न चाहेपछि एक्कासी तारनहार बन्न पुगेका डुडुवा नरेश आफैभित्र मख्ख रहनु स्वाभाविक थियो । यद्यपि आफुसँग १०० मत राखेकै भरमा डुडुवा नरेशलाई त्यसको दोब्बर मत दिएर महाधिवेशन र महासमिति प्रतिनिधिमा विजयी बनाउन बाँकी मतवालाहरुले अपार सहयोग गरिदिएकै हुन् भनेर निर्वाचनको हिसाबकिताब जोड्नेहरु ठट्टाभावमा सुनाउने गरेका छन् ।
विडम्बनाको कु्रो छ–नेपालको राजनीतिमा लामो इतिहास र विशाल पार्टीको छवि बनाएको नेपाली कांग्रेसमा शालीन राजनीति, दूरदर्शी राजनीति गर्नेहरुको संख्या न्यूननै देखिन्छ । सिद्धान्त र निष्ठाको राजनीति गर्न चाहने नेतागणका आसेपासे, हुक्केढोकेले आफ्नो स्वार्थ पूरा नहुने सम्भावना बुझेर नेतालाई रनभुल्लमा पार्ने कारणले धेरै नेताका छवि छताछुल्ल बन्न पुगेको छ । महाधिवेशनअन्तर्गत बाँकेमा भएका विभिन्न तहका निर्वाचनमा हानथाप गर्ने र मत पाउनका लागि हदैसम्मको लेनदेनमा उत्रिने केही अनुहार यसपटक पनि मतदाताका नजरमा नाङ्गो भएकै हुन् । अझ विभिन्न तहको अधिवेशन चल्दै गर्दा मुद्दामाथि बहस, गहन छलफल हुनुपर्नेमा नितान्त चुनावमा केन्द्रित भएको र जनस्तरबाट विभिन्न आरोपमा मुछिएका केही अनुहार उम्मेदवार बनेबाट नवप्रवेशी कांग्रेसजनले के सिक्लान् ? यही ताल हेर्दा मतदान चल्दाका समय पनि कतिपय मतदाताबाट पार्टी संगठन विचार बोकेकाको हातमा जानुको साटो बाहुबली र धनबलीको नियन्त्रणमा जान लागेको भन्दै चिन्ता प्रकट गरिंदै रहेको पाइएको थियो ।
जिल्ला अधिवेशन सकिएको छ । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनको तिथि नजिकिएका छन् । बाँके जिल्लाको तीनवटै क्षेत्रलाई विगतमा नेपालगञ्जले डो¥याएर, एक ढिक्का बनाएर लिएर गएको अवस्था थियो । तर अहिले जिल्लाको १ नम्बर कसको हातमा, २ नम्बर कसको हातमा, ३ नम्बर कसको हातमा भनेर गम्दै बस्ने कांग्रेसगण धेरै छन् । अब २ नम्बर क्षेत्रमा कांग्रेस पुनरागमन गर्न हलुको प्रयासबाट मात्र सम्भव देखिंदैन । परिवारवादको जालोबाट मुक्त हुन नसकेका पात्रहरुले जति त्याग, समर्पणका कुरा गरेपनि उनैका कृत्यले बाँके कांग्रेस अधोगतिको मुख्य कारक तत्व हुने अवश्यंभावी छ । संगठन सुदृढ र समृद्ध बनाउने प्राथमिकता छाडेर गुटकेन्द्रित तथा आ–आफ्नै स्वार्थ परिपूर्ति गर्नमै रमाउने महत्वाकाँक्षीबाट पार्टीलाई मल–जल हुने आशा गर्न सकिंदैन । पछिल्लो समय स्थानीय तह निर्वाचनलाई दृष्टिगत गर्दै एक महिने कार्यक्रम चलाउनासाथ सबै तहका कांग्रेसमा उर्जा भरिने, गुट–उपगुटबीचका मनमुटाव निमिट्यान्न हुने अपेक्षा सम्बद्धहरुले राख्नुलाई अन्यथा पनि नभनौँ । तर, जिल्ला अधिवेशनबाट निर्वाचित नारायण गौडेलको नेतृत्वलाई सघाउने कार्यसमिति केहीलाई छोडेर प्रायः उस्तै–उस्तै देखिएको टिकाटिप्पणी चल्दै रहेको बीच पार्टी निर्वाचनले कार्यकर्ताबीच जन्माएको तुष मेट्न ठोस उपाय खोज्नु अतिआवश्यक छ ।