निर्वाचनमा नागरिकको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
Thursday, March 31st, 2022, 8:57 pm
Kalpristha
आगामी बैशाख १० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका नागरिक समाजको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिइएको छ । नागरिक समाजको प्रभावकारी भूमिकाले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण हुने सरोकारवालाहरुले बताएका हुन् ।
पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बिहीबार गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक छलफल गरिएको थियो । कार्यक्रममा सहभागिहरुले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पूर्ण पालनाका लागि नागरिक दवाव आवश्यकता रहेको बताए ।
कार्यक्रमका सहभागिहरुले कार्यक्षेत्रमा आचारसंहिता उल्लघंनका घटना बढी हुने भएकाले स्थानीयस्तरबाट त्यसको कार्यन्वयनका लागि पहल थाल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा राजनीतिक दलका उम्मेदवारहरुले चुनावमा गर्ने अत्याधिक खर्च, सम्पत्ति विवरण नबुझाउने, बालबालिकाको प्रयोग बढी गर्ने, उम्मेदवारद्वारा विभिन्न प्रलोभन देखाउने, अनुमती विना पर्चा पम्पलेट तथा व्यानर टास्ने, स्थानजस्ता कार्यका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी, अधिवक्ता दिपकबहादुर सिंह, बलबहादुर चन्द, अधिकारकर्मी प्रकाश उपाध्याय, कृष्णमुरारी प्रसाद भट्ट, बालकुमारी पन्त, शैलेन्द्र बैश्य, इन्सेकका सरस्वती मल्ल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईलगायत पत्रकारहरुले निर्वाचन आचारसंहिताका बारेमा आ–आफ्नो विचार राखे ।