निर्वाचन कार्यालयमा जनशक्ति अभाव
Thursday, March 31st, 2022, 8:58 pm
Kalpristha
तेज बहादुर खड्का
नेपालगन्ज, १७ चैत
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनसँग सम्बन्धित काम बढ्दै गएका छन् । निर्वाचन कार्यालय बाँकेले अहिले निर्वाचनको तयारीलाई तीव्ररुपमा अगाडि बढाइरहेको छ । दैनिक कामको संख्या बढिरहेको छ । तर कार्यालयलाई कामको व्यवस्थापन गर्न भने चुनौतिपूर्ण अवस्थाको सामना गर्नु परेको छ । जनशंक्ति प्रर्याप्त मात्रामा नभएपछि काममा असर परेको छ ।
आवश्यक जनशक्ति अभावका कारण निर्वाचन कार्यालय बाँकेलाई कामको दबाब पनि बढेको छ । बाँके जिल्ला निर्वाचन कार्यालय अहिले ७ जना कर्मचारी कार्यरत छन् । जुन निर्वाचन आयोग नेपालको केन्द्रीयस्तरको नीतिअनुसार हो । तर निर्वाचनको समय नजिकिँदै जाँदा दैनिक कामको चाप बढेपछि जनशक्तिको अभाव देखिएको छ । हाल निर्वाचन कार्यालय बाँकेमा निर्वाचन अधिकृत रमा पन्तसहित ७ जना कर्मचारी कार्यरत छन् । निर्वाचन कार्यालयमा ४ जना स्थायी हुन भने ३ जना करारमा छन् ।
निर्वाचन अधिकृत, लेखा शाखा प्रमुख, कम्प्युटर अपरेटर, नायब सुब्बा, सवारी चालक र २ कार्यालय सहयोगी गरी ७ जनाको दरबन्दी छ । तर निर्वाचनको समयमा भने जनशक्ति अभाव भएको बताउँछिन् बाँके जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकृत पन्त ।
उनले भनिन्, ‘निर्वाचन आयोग नेपालको नीतिअनुसार हामीले काम गर्नु पर्ने हुन्छ । कार्यालयमा कर्मचारी अभाव छ । तर हामीले अन्य कार्यालयबाट कर्मचारी सहयोगमा लिन सक्ने व्यवस्था छैन । निर्वाचन आयोग नेपालले नै हामीलाई अनुमति नदिएसम्म भएको जनशक्तिबाट काम गर्ने हो ।’
निर्वाचन आयोगले हरेक जिल्लामा बाँकेकै जसरी जनशक्ति राखेको निर्वाचन अधिकृत पन्तले बताइन् । उनले थपिन्, ‘तथ्यांक संकलन र अपडेटका बेला निर्वाचन आयोगले थप जनशक्ति परिचालन गरेर काम गर्ने गरेको छ । तर त्यो सकिएपछि कार्यालयको काममा निर्वाचन कार्यालयकै कर्मचारीले काम गर्ने हो । जनशक्ति अभाव छ । तर हामीले निर्वाचन आयोगको स्वीकृत र निर्देशन बिना जनशक्ति थप्ने अधिकार छैन । त्यसले पनि दैनिक कामको चाप धेरै छ । त्यसलाई कार्यालयमा भएका कर्मचारीले सक्दो व्यवस्थित गरेर काम गरिरहनु भएको छ ।’
संघीयताको कार्यान्वयन अघि निर्वाचन कार्यालयमा कर्मचारीको अभाव थिएन । संघीयताको अभ्यास पछि निर्वाचन कार्यालयमा भएका कर्मचारीको समायोजन भएपछि अन्य क्षेत्रमा भएका थिए । विगतमा निर्वाचन कार्यालयमा दुईजना आइटी कर्मचारी हुने गरेका थिए । तर अहिले एउटैबाट काम गर्नु परेको छ । त्यो पनि दुईवटा जिम्मेवारी अर्थात आइटीसँगै सूचना अधिकारीको पनि जिम्मेवारी निर्वाह गरिरहेका छन्, निर्वाचन कार्यालयका आइटीका कर्मचारीले ।
निर्वाचन कार्यालय बाँकेमा कार्यरत आइटी प्रमुख युवराज खनालले नै अहिले सूचना अधिकारीको रुपमा काम गरिरहेका छन् । उनको दायित्व कार्यालयको सूचना कसैले मागेमा आधिकारिक रुपमा दिने हो । तर उनलाई कार्यालयमा कामले भ्याइ नभ्याई छ । कामको दबाब कारण सूचना मागेको व्यक्तिलाई दिनसमेत अप्ठयारो परेको उनको गुनासो थियो ।
बिहीबार कार्यालय परिसरमा काम गरिरहेका बेला सूचना अधिकारी पन्तले दैनिक कामको व्यवस्थापनमा निकै समस्या भैरहेको बताए । उनले भने, ‘सूचना माग्न धेरैले फोन गर्नु हुन्छ । हामीले फोन नै उठाउन सक्ने अवस्था छैन । त्यसैले चाहिएको सूचना कार्यालय प्रमुखसँग लिनु होला । हामीलाई अहिले भएका तथ्यांकलाई व्यवस्थित गर्ने काम गरिरहेका छौं ।’ निर्वाचन अधिकृत पन्तले कर्मचारी संख्यासँगै बजेटसमेत विगतको भन्दा कम भएकोले काम गर्न चुनौति भएको बताइन् ।