१४ प्रतिशतसम्म गाडी भाडा बढाइने
Thursday, March 31st, 2022, 9:05 pm
Kalpristha
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । मन्त्रालय अनुसार यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।
मन्त्रालयले आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गनेछ ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् ।
साथै भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने मन्त्रालयले जनाएको छ ।
डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो मागमा बेवास्ता गरेमा आफैंले भाडा समायोजन गरेर उठाउने चेतावनी दिंदै आएको थियो ।