स्वास्थ्य शाखालाई ‘अटोक्लेव’ प्रदान
Monday, April 18th, 2022, 5:33 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्यजन्य सामाग्री निर्मलीकरण गर्न अटो क्लेव र परिवार नियोजन कार्यलाई सहज बनाउन ईम्प्लान्ट सेट प्रदान गरिएको छ ।
भेरी वातावरणीय विशिस्टता समूह (वी–ग्रुप) बाँकेले स्वास्थ्य शाखाबाट माग भए बमोजिम उक्त स्वास्थ्यजन्य सामाग्री निर्मलीकरण गर्ने सामान र इम्प्लान्ट सेट उपलब्ध गराएको हो ।
वी–ग्रुपका लेखा प्रमुख बेद प्रकाश दिक्षितले सो सामाग्री आइतबार खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल र बढैयाताल स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेललाई हस्तान्तरण गरे ।
अष्ट्रेलियन एड र केयर नेपालको साझेदारीमा बाँके तथा बर्दियामा संचालित कोभिड–१९ आपतकालीन प्रतिकार्य र पुनर्लाभ परियोजनाअन्तर्गत बढैयातालमा ७९ हजार १ सय ४४ रूपैयाँ बराबराको ५ वटा अटोक्लेव तथा ६ वटा ईम्प्लान्ट सेट र खजुरामा ७१ हजार ८ सय २२ रुपैयाँ बराबरको ५ वटा अटोक्लेव तथा ३ वटा इम्प्लान्ट सेट प्रदान गरिएको छ ।
दुवै पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको र स्वास्थ्य सेवालाई संक्रमणमुक्त बनाउनका लागि स्वास्थ्य सामाग्री निर्मलीकरण गर्न अटो क्लेवको अभाव रहेको भन्दै स्वास्थ्य शाखामा माग गरिएको थियो । स्वास्थ्य शाखाले अभाव रहेको सामाग्री बि–ग्रुपसंग माग गरेपछि हामीले आवश्यक सामाग्रीहरू उपलब्ध गराएको लेखा प्रमुख दिक्षितले जानकारी दिए ।
पालिकाका नर्सिङ र स्वास्थ्यकर्मीहरूलाई ईम्प्लान्ट सम्बन्धि र आई पि.सि.सम्बन्धि तालिम संचालनपश्चात स्वास्थ्य संस्थाहरूमा यस्ता सामाग्रीहरुको अभाव रहेको कुरा सार्वजनिक भएको थियो । सहयोग स्वरुप प्राप्त भएको सामाग्रीले स्वास्थ्य संस्थामार्फत प्रदान भई रहेको सेवा अझ प्रभावकारी हुने खजुरा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले बताए ।
यस्ता सामाग्रीको प्रयोगबाट स्वास्थ्य शाखालाई संक्रमणमुक्त बनाउन सहज हुने बढैयाताल स्वास्थ्य प्रमुख बिष्णु पौडेले बताए । उनले एकैदमै आवश्यकता महसुस भएको र माग भएका स्वास्थ्य संस्थामा यो सामानहरू पुर्याउने जानकारी दिए ।
वी–ग्रुपले बाँके र बर्दियाका विभिन्न पालिकाहरूका स्वास्थ्य समस्या समाधानका लागि सहयोग गर्दै नमूना बनाउन आवश्यक उपकरणसमेत उपलब्ध गराउँदै आएको परियोजनाका फिल्ड संयोजक असरफ अन्सारीले बताए ।