किसानलाई चैते धानको चटारो
Monday, April 18th, 2022, 9:02 pm
Kalpristha
बंगलाची गाउँपालिका ४ डाबर निवासी किसान भरत थापा भने चैतेधान रोप्ने खेत मिलाउन अहिले व्यस्त छन् । जिल्लाका अधिकांश किसानहरू हिउँदे अन्नबाली घरमा भित्र्याएर फुर्सदिला बनेका छन तर थापा भने चैतेधान रोप्ने खेत बनाउन लागिरहेका छन ।
उनलाई चैतेधान रोप्ने खेत मिलाउन भ्याइ–नभ्याइ छ ।
सुकाखोलाको पानीले सिंचित भएको खेत दाइसँगै भरतले रोप्नका लागि तयार गरिरहेका थिए भने खेतमा वर्षातको समयमाजस्तै रोपाराहरूलाई धान रोपाइँको चटारो थियो ।
गत बैशाख एक गतेको नयाँ वर्षको रमाइलोसँगै राजनीतिसँग आबद्ध नागरिक निर्वाचनको तयारीमा जुटेका बेला डवारी निवासी भरत भने धान खेतीमा व्यस्त थिए ।
करिब साढे सात रोपनी खेतमा चैते धान रोप्ने तयारीमा रहेको बताए ।
फुर्सदको समयमा चैतेधान खेती थप आम्दानीको स्रोत बन्ने भएपछि आपूmहरूले विगत लामो समयदेखि चैते धान खेती गर्दै आएको बताए ।
‘चैते धान उनले चैतको अन्तिमतिर रोपेर सक्नुपर्ने धान खेती यस वर्ष केही ढिला भएको बताए । उनलाईजस्तै घोराही उप–महानगरपालिका–१ सुकाखोला निवासी बिमला पुन पनि धान रोप्न व्यस्त छिन् । बेमौसमी खेतीका रूपमा रोपिने चैतेधानबाट राम्रो आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैतेधान रोप्दै आएको बताइन् । उनले चैतेधानबाट राम्रो आम्दानी गर्ने गरेपछि वर्षातको समयमा धान भित्र्याउनसमेत समस्या हुने गरेको बताइन् ।
उनीहरू मात्र होइन हिउँदेबाली भित्र्याएर फुर्सदिलो बन्ने समयमा बंगलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र घोराही उप–महानगरपालिका १ सुकाखोलाका अधिकांश किसानहरू धान रोपाइमा व्यस्त छन् । वर्षमा दुई बाली धान खेती गर्ने उनीहरू चैतेधान खेतीबाट राम्रो आम्दानी लिने गरेको समेत बताउँछन् । स्थानीय किसानले सुकाखोलाको छेउका खेतहरूमा धान रोप्दै आएका छन् । अधिकांश किसानले पहिलेदेखि नै चैतेधान रोप्ने पेसालाई निरन्तरता दिएका छन् ।
यसरी रोपिएको धान साउनको पहिलो सातातिर पाक्ने किसान बताउँछन् । वर्षमा दुई बाली धान खेती गर्ने किसानहरूले एक बाली गहुँ वा मसुरो गरेर वर्षमा तीन बाली कृषि व्यवसयाय गर्ने गरेका छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा वर्षे धान रोप्ने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । वर्षे धानबाली काटेर कार्तिकमा धान काटेलगत्तै फेरि गहूँ छर्ने गरेका छन् । उनकाअनुसार चैत महिनामा गहूँबाली काटेपछि केहीले धान त केही किसानले मकै खेती गर्ने गरेका छन् ।
कृषि ज्ञान केन्द्रकाअनुसार घोराही उप–महानगरपालिका १, बंगलाचुली गाउँपालिका ३ र ४ सँगै देउखुरीका विभिन्न स्थानमा चैतेधान खेती हुने गरेको छ । तर, चैतमा रोपिने धान वर्षातको समयमा घरमा भित्राउन समस्या हुने गरेपछि जिल्लाका केही स्थानका किसानहरूले भने चैतैधान खेती गर्न छोडेका छन् । वर्षे मौसममा जस्तै धान बाली नफल्ने भए पनि मौसम र पानी प्रशस्त भएमा सामान्यता राम्रंो धान फल्ने गरेको कृषकहरूको भनाइ छ । कृषि ज्ञान केन्द्र दाङकाअनुसार जिल्लामा करिब दुई हजार पाँच सय बढी हेक्टरमा चैतेधान खेती हुने गरेको छ ।