कैलाली र कञ्चनपुरमा तीन दिन नाका बन्द हुने
Saturday, April 23rd, 2022, 9:16 pm
Kalpristha
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कैलाली र कञ्चनपुरसँग जोडिएका नेपाल–भारत नाकाहरु तीन दिनसम्म बन्द हुने भएका छन् । शुक्रबार कञ्चनपुर र शनिबार कैलालीमा दुबै देशका सुरक्षा अधिकारीहरुको बैठकले सो निर्णय गरेका हो ।
शनिबार कैलालीको गोदावरी रिसोर्टमा र शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल भारतका सुरक्षा अधिकारीहरुले बैठक गरेका हुन् । शनिबार कैलालीमा बसेको भारतको लखिमपुर जिल्ला र नेपालको कैलाली तथा कञ्चनपुर जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरुको बैठकले २८ गते विहानदेखि ३० गते बेलुकीसम्म ७२ घण्टा सीमा नाका बन्द गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले बताए ।
कैलाली भारतको लखिमपुर जिल्लासँग जोडिएको जिल्ला हो । त्यस्तै कञ्चनपुर जिल्ला भने भारतका लखिमपुर, उधमसिंह नगर र चम्पावत गरी तीन जिल्लासँग जोडिएको छ। कैलाली र कञ्चनपुर भारतका चार जिल्लासँग जोडिएकाले पनि सीमा अधिकारीहरुले फरक–फरक जिल्लाअनुसारका बैठक गरी सीमाको व्यवस्थापनको निर्णय गरेका हुन् ।
शुक्रबार कञ्चनपुरमा पनि सीमा अधिकारीहरुको बैठक बसेका थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले स्थानीय तहको निर्वाचनमा सीमा बन्द गर्ने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा मानव बेचबिखनजस्ता अपराधिक क्रियाकलाप रोकथामका लागि दुबै देशका सुरक्षा निकाय सहमत भएको बताए ।
कैलाली र कञ्चनपुरमा भएका बैठकहरुमा नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत छलफल भएको थियो। बैठकमा सीमाको सर्भेको काम संयुक्त सर्भे टोलीमार्फत गरिने बताइएको छ। त्यसैगरी सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने समझदारी भएको छ ।
कैलालीमा भएको बैठकमा भारतको तर्फबाट लखिमपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एडीएम अरुण कुमार सिंह, असिस्टेन्ट एसपी कैलाश प्रकाश, सीमा सुरक्षा बल एसएसबीका ३९ नम्बर बाहिनिपति मुन्ना सिंहसहित दुधवा नेशनल पार्कका वार्डेन, बनका अधिकारीहरुको सहभागिता रहेको थियो ।