काम गर्नेले पुरस्कार पाउने : पोख्रेल
Saturday, April 30th, 2022, 8:45 pm
Kalpristha
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले काम गर्नेले पुरस्कार पाउने बताएका छन् । उनले देश र जनताका पक्षमा एमालेले काम गरेको भन्दै त्यसको परिणाम जनताले वैशाख ३० गते दिने बताए ।
युवा विद्यार्थी र महिलाको निर्वाचन परिचालन सम्बन्धी संयुक्त भेलालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दे महासचिव पोख्रेलले सत्ताधारी दलहरु भने तोरीमा गोदो हालेर पेल्दै गरेको आरोप लगाउँदै त्यसको न तेल न पिठो निस्कने बताए । उनले एमालेमा तराईका जनताको आकर्षण बढेको बताउँदै हुलाकी मार्ग तराई मधेश समृद्धि कार्यक्रममार्फत तराईको विकास केपी ओली नेतृत्वको सरकारले गरेको बताए ।
परिवर्तनका पछाडि एमालेको हात रहेको औल्याउँदै महासचिव पोख्रेलले मधेसका मुद्दा एमालेले समाधान गर्दै गर्दा मधेसी जनताका वीचमा एमाले लोकप्रिय पार्टी बन्दै गएको उल्लेख गरे । उनले त्यसैले तराईमा अरु दल छोडेर एमालेमा प्रवेश गर्नेहरुको लर्को रहेको दावी गरे । महासचिव पोख्रेलले ठाउँ बनाउनेलाई भोटको अधिकार रहेको उल्लेख गर्दै सपनालाई योजनामा बदल्ने देश बनाउने पार्टी एमाले रहेको दावी गरे ।
कार्यक्रममा नेकपा एमालेबाट नेपालगन्ज उप–महानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र र शान्ति ढकालले युवा र महिलाका पक्षमा एमालेले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको र त्यसकै आधारमा अगाडि बढ्ने बताए ।