शहिद परिवारका अभिभावकबाट आर्शिवाद लिँदै कांग्रेस उमेदवार
Saturday, April 30th, 2022, 8:47 pm
Kalpristha
नेपाली कांग्रेस कोहलपुरले शनिबारदेखि चुनावी घरदैलो सुरु गरेको छ । कोहलपुर नगरपालिका—१२, चप्परगौडीस्थित शहिद परिवारको घरबाट घरदैलो अभियान सुरु गरिएको हो ।
शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्ण प्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्र बहादुर शाहलगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिएका थिए ।
सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारकातर्फबाट खत्रीले शुभकामना दिएका थिए । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफूहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन कांग्रेसलाई एकपटक जिताउन अपिल गरेका थिए ।
स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मतदिने विश्वास दिलाएका थिए । उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजनासहित अगाडि बढ्ने र युवा पुस्तालाई मतदिने विश्वास दिलाए ।
घरदैलो अभियानमा जिल्ला सभापति नारायण प्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वलीलगायत सहभागी भएका थिए ।
कोहलपुर नगरपालिकाका १५ वटै वडामा शनिबारदेखि औपचारिकरुपमा घरदैलो अभियान सुरु गरिएको छ ।