डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउन सहमति
Saturday, April 8th, 2017, 8:52 am
amit
काठमाडौं- डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउन सत्ताधारी घटकबीच सहमति भएको छ। सरकारमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखबीच भएको छलफलमा अर्याललाई आइजीपी बनाउन सहमति भएको हो।
सरकारले फागुन १ मा प्रहरी महानिरीक्षक तोकेका डिआइजी जयबहादुर चन्दको नियुक्ति सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको थियो। अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा वरियतालाई आधार बनाएर प्रहरी प्रमुख नियुक्त गर्न सरकारको नाममा आदेश दिएपछि फागुन १ को निर्णय निष्त्रि्कय भएको थियो।
स्रोतका अनुसार नयाँ प्रहरी प्रमुख चयन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो।
‘अदालतले चन्दको नियुक्ति खारेजीको आदेश दिएकाले पुनः उनलाई नै प्रमुख बनाउँदा कानुनी जटितला बढ्ने देखिएपछि अन्य तीन विकल्प (नवराज सिलवाल, अर्याल र बमबहादुर भण्डारी) माथि छलफल भएको थियो,’ छलफलबारे जानकार स्रोतले भन्यो, ‘वरियतामा पहिलो नम्बरमा रहेका सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्यांकनमा अर्याल अगाडि रहेकाले उनको नाममा सबै सहमत छन्।’
गृहमन्त्री विमलेन्द्र निधिले समेत सरकारले अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने तयारी गरेका बारे आफ्ना पार्टीका मन्त्रिलाई समेत जानकारी गराइसकेका छन्।
मन्त्रिपरिषद्को वरियता विवादबारे बिहीबार गृहमन्त्रालयमा राखेको छलफलमा निधिले ‘अदालतको आदेशका कारण सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने अवस्था आएको र सिलवालको पक्षमा सहमति हुन नसकेको’ जानकारी गराउँदै अर्याललाई प्रहरी प्रमुख बनाउन राजनीतिक शीर्ष तहमा सहमति भएको छलफलमा सहभागी एक मन्त्रीले बताए।