विश्वकप छनोटमा नेपालले जित निकाल्यो
Monday, June 6th, 2022, 8:32 pm
Kalpristha
मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।
भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् । साना प्रविनले १२ रन जोड्दा आश्मा पुलामी मगर ३ तथा किरण कुमारी कुँवर २ रनमा आउट भईन् । सृष्टि जैसीले ८ रन कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा सुन्य रनमा आउट भईन् ।
एलिशा कुमारी यादव २ रनमा अविजित रहिन् । भुटानका सांगे वाङ्मोले ३ तथा अन्जुली घली र सोनमले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन । नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २÷२ विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो ।
तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो । भुटानको यो लगातार तेस्रो हार हो । अंक विहीन भुटान पुछारमा रहेको छ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतारले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।