बर्दियाको घटना छानविन गर्न समिति गठन
Tuesday, June 7th, 2022, 11:47 am
Kalpristha
बर्दियामा बाघको आतंक बढेपछि सुरक्षाको माग गर्दै सडकमा उत्रियाका स्थानीयमाथि सोमबार बेलुकी प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु र दुई जना घाइते भएका थिए । उक्त घटनाबारे छानविन गर्न गृह मन्त्रलयले समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निणर्यबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।
समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
सोमबार प्रहरीको गोली लागेर बर्दिया जिल्लाको मधुवन नगरपालिका-२ की नविना थारुको मृत्यु भएको थियो ।
बाघ आक्रमणको विषयलाई लिएर स्थानीयले गुलरिया राजापुर सडक अवरुद्ध गरेका छन् ।
यसअघि सोमबार बिहान खेतमा काम गर्न गएकी मधुवन नगरपालिका- २ सोनाहा गाउँकी ४१ वर्षीय अस्मिता थारुलाई बाघले आक्रमण गरी गम्भिर घाइते बनाएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार घाइते थारुको दाहिने हात र तिघ्रामा बाघले आक्रमण गरी घाइते बनाएको छ । थारुलाई बाघले आक्रमण गर्दा नजिकै खेतमा काम गरिरहेका अन्य व्यक्तिहरुले हल्ला गर्दा बाघ छोडेर भागेको थियो ।
बाघको आक्रमण बढेपछि मधुवन-२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको थियो । चक्काजाम भएपछि गुलरिया-राजापुर सडकखण्ड अबरुद्ध भएको भएको थियो ।
खाता करिडोर क्षेत्रमा बाघको आक्रमण रोकिएको छैन् । १३ दिन अघि मात्र बाख्रा चराउन गएकी ४९ वर्षीय महिलालाई बाघले आक्रमण गरी शिकार बनाएको थियो ।
खाता करिडोर क्षेत्रअन्तर्गत बाघको आक्रमण निरन्तर भइरहेको छ । बाघले आक्रमण गरी मानिसको ज्यान लिने र घाइते बनाउने गरेको छ । सम्बन्धित निकायले मानिसको जिउको संरक्षणलाई प्राथमिकता नदिएको आरोप लगाउँदै स्थानीय आक्रोसित बनेका छन् । वन क्षेत्रलाई तारवार गरी मानिसको जिउधन संरक्षण गर्नुपर्ने माग स्थानीयको छ ।