बन्द रहेको मल उत्पादन उद्योग संचालनमा आउँदै
Tuesday, June 7th, 2022, 11:59 am
Kalpristha
लिलाधर वली
अहिले देशभर रासायनिक मलको समस्या छ । यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा बर्सेनि पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा बर्सेनि किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् ।
तर, रासायनिक मलको विकल्पका रूपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू भने आर्थिक अभावकै कारण धाराशायी अवस्थामा छन् । त्यसैको उदाहरणका रूपमा घोराही उपमहानगरपालिका-१७, बेलभारमा २०७१ सालमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रालि ।
रासायनिक मलको विकल्पका रूपमा प्राङ्गारिक मल उत्पादन गर्ने गरी सरकारको ५० प्रतिशत अनुदानमा स्थापना भए पनि आर्थिक समस्याका कारण उद्योग सञ्चालनमा पटक-पटक समस्या भएको सूर्यशक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रालिका सञ्चालक महेश चौधरी बताउँछन् ।
उद्योग स्थापना गरेको दुईपछि नेपाल कृषि अनुसन्धान केन्द्र नार्कबाट २०७३ सालमा अनुमति प्राप्त गरेर प्राङ्गारिक मल वितरण गर्दै आए पनि कोरोना भाइरसका कारण बन्द हुन पुगेको थियो । कोरोना महामारीका कारण केही वर्ष बन्द भएको उद्योगलाई अहिले भारतबाट थप मेसिन ल्याएर स्तरवृद्धि गरेर सञ्चालनको तयारी भैरहेको चौधरीले बताउँछन् ।
‘उद्योग २०७१ सालमा स्थापना भए पनि २०७३ मा नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)बाट अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गर्दै आएका थियौं,’ सञ्चालक चौधरीले भने, ‘तर कोरोना भाइरसले अन्य क्षेत्रमा जस्तै हाम्रो उद्योगमा पनि असर गर्यो, जसका कारण केही वर्ष उत्पादन बन्द हुन पुग्यो ।’ अहिले पुरानो मेसिनबाट थोरै उत्पादन भए पनि नयाँ प्लान्ट स्थापना भएपछि उत्पादन बढ्ने उनी बताउँछन् । नयाँ प्लान्ट स्थापनाका लागि भारतबाट मेसिन आउन थालेको उनले बताए ।
‘पुरानो मेसिनबाट अहिले दैनिक १०-१५ क्वीन्टल मल उत्पादन गरिरहेका छौं,’ पूर्वसांसदसमेत रहेका चौधरीले भने, ‘नयाँ मेसिन आउँदै छ । त्यो जडान भएपछि प्रतिघण्टा ७ देखि १० क्वीन्टल मल उत्पादन गर्ने तयारी छ ।’ असारको पहिलो हप्तादेखि उत्पादन गर्ने तयारी रहेको उनको भनाइ छ । नार्कबाट अनुमति प्राप्त प्राङ्गारिक मल भएकाले किसानले रासायनिक मल युरिया र डीएपीको विकल्पमा प्रयोग गर्न सक्ने चौधरी बताउँछन् ।
‘हामीले उत्पादन गरेको सूर्यशक्ति जैविक प्राङ्गारिक मल धान खेतीसँगै तरकारी र फलपूmल खेतीका लागि प्रयोग हुँदै आइरहेको छ,’ उनले भने । त्यसका लागि विभिन्न साइजमा मलका प्याकेटहरू बनाउने गरिएको छ । अहिले उद्योगबाट प्राङ्गारिक डीएपी र कमपोस्ट मल उत्पादन गर्ने तयारीमा रहेको समेत उनको भनाइ छ ।
कृषिका लागि प्राङ्गारिक मल बहुउपयोगी भए पनि किसानले बढी उत्पादन दिने नाममा रासायनिक मल प्रयोग गर्ने गरेको उनले बताए । ‘उत्पादनसँगै जमिनको उर्वराशक्ति बचाइराख्नका लागिसमेत प्राङ्गारिक मलको आवश्यकता छ,’ उनले भने ।
तर, जनचेतनाको कमीका कारण छोटो समयमा बढी उत्पादन लिन किसानले रासायनिक मल प्रयोग गर्न गरेको उनको भनाइ छ ।
सरकारले साना उद्योगलाई बचाउनका लागि आर्थिक सहुलियतसँगै कृषि व्यवसायमा प्रङ्गङ्गारिक मलको प्रयोग बढाउने वातावरण बनाउन सके किसानहरूले बर्सेनि भोग्दै आएको रासायनिक मलको समस्या हटाउन सकिने उनले बताए । उद्योगलाई आर्थिकसँगै विद्युत् र दक्ष जनशक्तिको समस्या रहेको चौधरी बताउँछन् ।