दाङको जिल्ला समन्वय समितिमा कांग्रेसको एकल बहुमत
Tuesday, June 7th, 2022, 8:09 pm
Kalpristha
दाङका पालिकाहरूबीच समन्वय गर्ने अधिकार प्राप्त जिल्ला समन्वय समिति दाङको निर्वाचन जेठ २९ गते हुने भएको छ । जसमा नेपाली कांग्रेसको एकल बहुमत रहेको छ ।
जिल्लामा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरेर १० वटा स्थानीय तह छन् ।
कांग्रेसले एक नगरपालिकासहित चार गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ भने दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
कांग्रेसले लमही नगरपालिकामा प्रमुख, उपप्रमुख, राजपुर गाउँपालिका, शान्ति नगर, दंगीशरण र बबई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ । त्यसैगरी गढवा गाउँपालिका र बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जिसस गठनको लागि ११ मत आवश्यक पर्छ र तर कांग्रेससँग एक्लै १२ मत छ ।
त्यो अनुरूप जिसस दाङ कांग्रेसको एकल गठन हुने भएको छ । जिसस गठनको लागि एकल बहुमत भएको कांग्रेसले अझैसम्म पनि उम्मेदवार चयन भने गरेको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २९ गते बिहान १० देखि ३ बजेसम्म निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि प्रक्रियासमेत अगाडि बढेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्न पाउने व्यवस्था छ ।
जिसस प्रमुखको लागि घोराही उपमहानगरपालिका वडा नम्बर १५ बाट वडाध्यक्षमा निर्वाचित रमेशकुमार पाण्डे र राप्ती गाउँपालिकाबाट वडा सदस्यमा निर्वाचित नित्यानन्द शर्मालगायत जनप्रतिनिधिको नाम चर्चामा छ ।
तर पार्टीले आधिकारिक निर्णय नगरेको दाङ कांग्रेसले जनाएको छ । अबको केही दिनमा उम्मेदवार चयन गर्ने कांग्रेसले जनाएको छ ।
जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था छ । जिससले जिल्लाका पालिकाहरूबीच समन्वय गर्ने गर्छ । अनुगमन र समन्वय नै जिससको अधिकार हो ।
पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्ला सभा गठन हुन्छ ।
निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र सभा बसि सक्नु पर्छ ।
उक्त सभाले जिसस गठन गर्ने कानुनी प्रावधान छ । जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा ९ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनुपर्ने व्यवस्था छ ।