जिल्ला समन्वय समितिको उप-प्रमुखमा कार्कीसहित ४ जना कांग्रेसका सदस्य निर्विरोध
Wednesday, June 8th, 2022, 3:52 pm
Kalpristha
जिल्ला समन्वय समिति बाँकेको उप-प्रमुखमा नेपाली कांग्रेसकी सीता कार्की निर्विरोध भएकी छिन् । उप-प्रमुख पदमा कार्की बाहेक अरु कसैको उम्मेदवारी नपरेका कारण उनी निर्विरोध भएकी हुन् ।
त्यस्तै पुरुष सदस्यमा पनि चारजना निर्विरोध चयन भएका छन् । जसमा नेपाली कांग्रेसका उदय नारायण मिश्र, जुलफकार अली मनिहार र सन्त कुमार थारु निर्विरोध भएका हुन् । साथै दलित वा अल्पसंख्यकमा पनि कांग्रेसका जगदीश बाल्मिकी निर्विरोध चयन भएका छन् ।
अब जिल्ला समन्वय समितिको प्रमुख र महिला सदस्यका लागि निर्वाचन हुने भएको छ । प्रमुखमा दुईजना र महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । जसमा प्रमुख एकजना र महिला सदस्य ३ जना चयन हुने छन् ।
प्रमुख पदका लागि कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी र जनता समाजवादी पार्टी (जसपा) का उमेश कुमार कुर्मीको उम्मेदवारी परेको छ ।
त्यस्तै महिला सदस्यमा जसपाबाट तरन्नुन बानो शेष र लक्ष्मी पासीको उम्मेदवारी परेको छ भने नेकपा माओवादी केन्द्रबाट चमेली थरुनी र रेवती दमाईको उम्मेदवारी परेको छ ।
जिल्ला समन्वय समितिको जेठ २७ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो ।
जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत छ । कांग्रेसका १२ जना मतदाता छन् ।
जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।
अन्य तीन जना सदस्यहरु गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरुबाट उम्मेदवार भएर आउँछन् । उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।
जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन् ।