किसानलाई बहुआयामी बनाउँदै राप्ती सोनारी
Monday, June 13th, 2022, 10:45 am
Kalpristha
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १, कुसुम का कुलबहादुर बुढाथोकीको पेशा तरकारी खेती हो । लामो समयदेखि तरकारी खेती गर्दै आएका कुलबहादुर आफ्नो पेशाप्रति सन्तुष्ट देखिन्छन् । उनीले तरकारी खेती सँगसँगै भैसी र बाख्रा पनि पालेका छन् ।
‘पहिला त मैले तरकारी खेती नै सुरु गरेको हो । पछि फेरि एउटा भैसी र बाख्रा पनि पाल्न सुरु गरेको हो,’ कुलबहादुरले बताए ।
कुलबहादुरले तरकारी खेती गर्ने क्रममा बारीमा प्रसस्तै घाँस हुने र सो घाँस फाल्नु पर्ने, अरुलाई काट्न दिनु पर्ने भएपछि घाँसको सदुपयोग गर्न भैसी पाल्न सुरु गरेको बताउँछन् । उनी भन्छन्, ‘खेतीपाती गर्ने किसानलाई गाईभैसी पाल्न गाह्रो छैन । घाँस जति पनि हुन्छ । त्यस माथि कतिपय तरकारी खेर गइरहेको हुन्छ । त्यसैले दुई/चारवटा वस्तुभाउ पालिन्छ ।’
कुलबहादुर आफूले उत्पादन गरेको तरकारी, दूध र बाख्रा बेचेर सजिलै जिविकोपार्जन गरिरहेको बताउँछन् । उनले आफूसँगै गाउँका केही व्यक्तिहरुलाई पनि दैनिक ज्यालादारीमा काम लगाउने गरेको बताउँछन् ।
पालिकाको वडा नम्बर १, कुसुमलाई तरकारी खेतीका रुपमा चिनिन्छ । कुलबहादुर जस्तै अन्य १२ जना किसानहरु मिलेर राप्ती कृषक समूह बनाएर पालिकामा दर्ता पनि गरेका छन् । समूहले गर्दा पालिकाबाट उनीहरुलाई अनुदान, सहयोग पाउन सजिलो भएको कुलबहादुर बताउँछन् ।
‘हामीले १३ जनाको समूह बनाएका छौं । पालिकामा केही कार्यक्रम, अनुदान आयौ भने हामीलाई खबर गर्नु हुन्छ । सबै किसानलाई के आवश्यकता परेको छ । त्यो चिज पालिकाले दिन्छ,’ उनले बताए ।
राप्ती सोनारीले तपाईहरु जस्ता किसानलाई कृषि पेशामा प्रेरित गर्न सहयोग गरे जस्तो लाग्छ ? भन्ने प्रश्नमा कुलबहादुर मुस्कुराउँदै भन्छन्, ‘गाउँपालिकाले अहिलेसम्म राम्रै सहयोग गरेको छ । यसमा गलत त भन्नु हुन्न । तर कहिले काँही माहीले उत्पादन गरेको तरकारी बिक्री गर्न अलि समस्या पर्छ । त्यही हो ।
…….
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ टिकुलिपुरमा प्रगतिसिल महिला कृषक समूह छ । जसमा २१ जना कृषकहरु आवद्ध छन् । उक्त समूह धानखेतीका लागि राप्ती सोनारीमा प्रख्यात रहेको छ ।
योपटक उक्त समुहले १० विघा क्षेत्रफलमा मध्यम खालको धान लगाएका छन् ।
समूहकी उपाध्यक्ष लोकसरी ठाकुर ५ कट्ठामा धानखेती गर्छिन् र धान पछि आलु लगाउने गर्छिन् । उनीले सोचे अनुुुसार धान उत्पादन गर्न सक्षम रहको कालपृष्ठलाई बताइन् ।
उक्त समूहका सदस्यहरु धान लगाउने बेला सामूहिक काम गर्ने गरेको लोकसरीले बताइन् । ‘हाम्रो समूहमा आज जस्तो धान लगाउने पालो छ सबै २१ जना नै उसको बीउ काड्ने र रोप्ने काम गर्छौ,’ लोकसरीले बताइन् ।
उनलाई पनि कुलबहादुर कै प्रश्न गर्दा लोकसरी भन्छिन्, ‘गाउँपालिकाले त सहयोग गरेको छ । खेती गर्ने त हामीले हो । उहाँहरुले त सहयोग गर्ने हो । हामीलाई चाहिने सिँचाइका समान, औषधि, बीउहरु, मल पालिकाले दिने गरेको छ । कहिले काही हामीलाई यो चाहियो भनेर निवेदन दिन्छौं उहाँहरुले सोही अनुसारको सहयोग गर्नु हुन्छ ।’
उक्त समूहलाई गत वर्ष पालिकाले ५० प्रतिशत सहयोगमा १४ लाख रुपैयाँ अनुदान दिएको थियो ।
…….
राप्ती सोनारी गाउँपालिकालाई कृषि तथा पशुपालनबाट आत्मनिर्भर बनाउन सकिने पालिका अध्यक्ष तप्त पौडेलेको भनाइ छ । उनी यतिसम्म विश्वस्त छन् की राप्ती सोनारीले कृषि तथा पशुपालनको माध्यामबाट देशलाई केही प्रतिशत सहयोग गर्न सक्नेमा । पौडेलका आर्थिक वर्ष २०७९/८० मा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताउँछन् ।
राप्ती सोनारी गाउँपालका उपाध्यक्ष मनिषा थारु राप्ती सोनारीका हरेक घरमा कृषिकर्म हुने बताउँछिन् ।
कृष शाखा प्रमुख चन्दा शाही राप्ती सोनारीमा रहेको भूगोलमा सबै किसिमको कृषि खेती गर्न सकिने बताउँछिन् । पशु शाखा प्रमुख जय बहादुर कार्की राप्ती सोनारीमा बाख्रा पालन र गाईभैसी पालनबाट प्रशस्त माशु तथा दूध निर्यात गर्न सकिने बताउँछन् ।
…….
आर्थिक वर्ष २०७८/७९ मा पालिकाले कृषि शाखाका लागि ७८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको थियो । पालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाइ अर्थतन्त्रलाई गतिशिल बनाउने र कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायिकीकरण गर्ने लक्ष्य लिएको थियो ।
यस वर्ष पालिकाले कृषि आधुनिकरण र यान्त्रिकरण कार्यक्रमअन्तर्गत पालिका भित्रका किसानहरुलाई अनुदानमा मेशिनरी औजार वितरण गर्ने कार्यक्रम सम्पन्न गरी कृषकहरुको आयआर्जन क्रियाकलापलाई बढावा दिने कार्यको थालनी गरेको छ । ‘साथै टोलटोलमा कृषक समूह : गाउँगाउँमा सहकारी’, ‘खेती गरौं भकारी भरौं’ जस्ता नारालाई पनि यो वर्ष सार्थक तुल्याइएको छ शाखा प्रमुख शाहीले बताइन् ।

.
शाहीका अनुसार गत वर्ष वडा नम्बर १ देखि ९ सम्मका ७ हजार किसानलाई कृषकहरुलाई व्यवसायिकरण तथा खाद्यान्न उत्पादन वृद्धि गर्न ‘खाद्यान्न तथा तरकारी प्रवन्धन’ कार्यक्रममा जोडिएको थियो ।
जसमा ५० प्रतिशत अनुदानमा १ करोडको कार्यक्रम संचालन गरियो । त्यस्तै यो वर्ष पनि ‘मसिना धान उत्पदान तथा प्रवन्धन’ मा ४ हजार किसानलाई जोडिएको छ । जसमा ५० प्रतिशत अनुदानमा ३० लाख रुपैयाँको कार्यक्रम संचालन गरिएको छ । यी कार्यक्रममा पालिकामा रहको साकार कृषि सहकारी संस्थाले संचालन गरेको हो ।
साथै यो वर्ष मकैको पकेट क्षेत्र रहेको वडा नम्बर ७ मा शिवशक्ति सहकारी संस्थाको सहयोगमा हरियो मकै, हिउँदै मकै कार्यक्रम संचालन गरियो ।
पालिकाले कृषिमा नयाँ सुरुवात पनि गरेको छ, बगर खेती । राप्ती सोनारीमा धेरै बगर क्षेत्र भएकाले बगर खेतीको प्रारम्भिक खेती सुरु गरिएको शाहीले बताइन् । ‘हामीले यो वर्ष वडा नम्बर ५ को ललैमा बगरे तरकारी, मुमफली र तर्भुजा खेती सुरु गरेका छौं । एकदमै राम्रो भयो । यो पटक बजेट सानो थियो । अब यसलाई बढावा दिने योजना रहेको छ ।’ यो वर्ष पालिकाले बगरखेतीका लागि २ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
यसका अलवा पालिकाले किसानहरुलाई बिरुवा वितरण, समूह निर्माण पनि जोड दिँदै आएको छ ।
सम्भवत कृषिमा देखिएको विकासले यो वर्ष राप्ती सोनारीले कृषिमा अझ बढी लगानी गर्ने देखिन्छ ।
…….
आर्थिक वर्ष २०७८/७९ मा पालिकाले पशु शाखाका लागि ६७ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले पशुपालनलाई एक अब्बल पेशाको रुपमा स्थापित गर्न बाख्रापालन बंगुरपालन, माछापालन र कुखुरापालन जस्ता पकेट क्षेत्र निर्धारण गरी तदनुरुपको अनुदान तथा राहत कार्यक्रम संचालन गर्न उक्त बजेट विनियोजन गरेको हो ।
पालिकाले यो वर्ष पशुपालकका लागि १२ लाख रुपैयाँको औषधि खरिद गरेको छ । तर उक्त उक्त औषधि राप्ती सोनारीका पशुपालक किसानलाई प्रयाप्त नभएको अधिकृत कार्कीले बताए । साथै ३ लाखको भ्याक्सिन, घाँउको बीउ, डाले घाँसको बेर्ना पनि पालिकाले पशुपालकलाई वितरण गर्ने गरेको कार्कीले बताए ।
पशुपन्छीको नश्लसुधार, पशुपन्छी स्वास्थ्य शिविरमा पनि पशु शाखा कृयाशिल रहेको पाइन्छ । यो वर्षमात्रै पालिकाले वाड नम्बर ४ को गद्रनगौडीमा संचालन गरेको शिविरमा १ हजार ४० पशुपन्छीको उपचार गरियो । त्यस्तै वडा नम्बर १ खोकरीमा १ हजार ५ सय ३८ र वडा ४ बासखोलीमा ९ सय ४९ पशु तथा पन्छीहरुको उपचार गरिएको कार्कीले बताए ।
यसका अलवा फर्म सुधारमा पनि पशु शाखा केन्द्रित रहेको छ ।
पालिकाले हरेक वडामा प्राविधिक टोली राखेको छ । पशुपालकले केही समस्या आएमा उनीहरुसँग समन्वय गर्ने गरेको कार्कीले बताए ।
कार्की राप्ती सोनारीमा बाख्रा पालनको अधिक सम्भावना रहेको बताउँछन् । उनीले यसअघि २०५६ सालमा राप्ती सोनारीको ढकेरीमा रहेको बाख्रा स्रोत केन्द्रमा काम गर्दाको अनुभव सुनाउँदै राप्ती सोनारी क्षेत्रमा बाख्रा, गाई, भैसी र अहिले बंगुर पालनको धेरै सम्भावना रहेको कालपृष्ठसँगको कुराकानीमा बताए ।