बाँकेमा रहेका स्मार्ट कृषि खेतीको अनुगमन
Sunday, June 26th, 2022, 8:28 pm
Kalpristha
कृषि ज्ञान केन्द्र बाँकेले कार्यलयबाट सन्चालित बाकेमा रहेको स्मार्ट कृषि गाउँ र करार खेती कार्यक्रमको अनुगमन गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेश भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल टीकाराम खत्री, सिमिट इन्टरनेश्नलका व्यवसाय अधिकृत दीपक काफ्ले, किसान २ का क्षेत्र संयोजक टुकनारायण अर्याल र पत्रकारहरुसहितको टोलीले बाँकेका विभिन्न स्थानका स्मार्ट कृषि गाउँ र करार खेतीको अनुगमन गरेको हो ।
बाँकेको खजुुरा-२ सीतापुर स्मार्ट कृषि गाउँ, बैजनाथ ८ स्थित स्मार्ट कृषि गाउँ, राप्ती सोनारी-७ फत्तेपुरस्थित स्मार्ट कृषि गाउँ, बैजनाथ-८ स्थित सुमन चौधरीले करार खेती कार्यक्रमअन्तर्गत गरिएको तरकारी खेती र डुडुवा गाउँपालिका वडा नम्बर ५ गौडीखजुरामा विनोद कुमार थापाले गरिरहेको बाख्रापालनको अनुगमन गरिएको छ ।
अनुगमनमा क्रममा सबै फर्म तथा कृषि गाउँका किसानहरुले सन्तोषजनक प्रगति गरेको फेला परेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
किसानहरुले पनि प्रदेश सरकारले सन्चालन गरेको स्मार्ट कृषि गाउँ र करार खेती कार्यक्रमबाट आफूहरु खुसी रहेको बताएका थिए ।
कार्यालयबाट सन्चालन भएका अन्य कार्यक्रमहरुको पनि अनुगमन भएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्राईले जानकारी दिए । अनुगमनले किसानमा एक किसिमको हौसला दिएको अपेक्षा गरिएको उनले बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बाँकेमा किसानहरु व्यवसायिकतातर्फ उन्मुख भएको बताए । उनले बास्तविक किसान समक्ष अनुदानका कार्यक्रम दिन कार्यालय अग्रसर भएको उल्लेख गरे ।