ल्याबमा भेटिदैनन् भेरीका कर्मचारी
Sunday, July 31st, 2022, 8:44 pm
Kalpristha
दुर्गा प्रसाद पौडेल
भेरी अस्पतालमा कार्यरत सिटि स्याकन शाखाका कर्मचारीको लापरबाहीका कारण बिरामीले सास्ती भोग्नु परेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ निवासी लक्ष्मण थारुले आफ्नो बुबाको उपचारमा अस्पतालले लापरबाही गरेको आरोप लगाए । उच्च रक्तचापको बिरामी आफ्नो बुबालाई लिएर गत बिहीबार उनी अस्पताल पुगेका थिए ।
बुबाको स्वास्थ्य परीक्षण गरेपछि डाक्टरले तत्काललै सिटि स्क्यान गराउन भने । थारु बुबालाई लिएर सिटी स्क्यान कक्षमा पुग्दा त्यहाँ कार्यरत कर्मचारी थिएनन् । तीन घण्टा कुरेपछि एक रेडियोग्राफरले सिटि स्क्यान गरिदिएको लक्ष्मणले बताए । बिरामी ८५ वर्षीय बुबा लोहारी थारुको अवस्था बिग्रँदै गएपछि उनले अस्पताल प्रशासनलाई त्यो कुरा जानकारी गराएका थिए ।
राप्ती सोनारीका लक्ष्मण थारुले पाएको सास्ती एउटा उदाहरणमात्र हो । भेरी अस्पतालमा दैनिक सयौं बिरामीले अस्पतालका कर्मचारी र डाक्टारका कारण दुख पाइरहेका हुन्छन् । थारु भन्छन, ‘भेरी अस्पतालको सिटी स्क्यान मेसिन देखाउन मात्रै रहेछ । बिरामीलाई निजी अस्पताल र क्लिनिकमा जान बाध्य पार्ने नियतले कर्मचारीले सास्ती दिँदा रहेछन् । सेटिङमा सिटि स्क्यान गर्न बाहिर निजीमा पठाइँदोरहेछ ।’
यसरी अस्पतालमा आउने बिरामीलाई दुख दिने एउटा मुख्य कारण हो निजी क्लिनिकमा बिरामीलाई पठाउनु । अस्पतालभित्र रहेका डाक्टर र कर्मचारीले संचालन गरेका ल्याब र क्लिनिकमा पठाउनको लागि त्यसरी जानाजान लापरबाही गर्ने गरेको बताउँछन्, थारु ।
भेरी अस्पतालमा यसै साता थारु जस्तै दुख पाउने अर्का व्यक्ति हुन् टीकापुरका गुरुभक्त तिवारी । उनी दुई दिनदेखि सेवा नपाएर भौंतारिरहेका थिए ।
मुटु रोगसम्बन्धी समस्या भएका आफन्तलाई लिएर आएका उनले सेवा नपाएको दुई दिन भइसक्यो ।
तिवारी भन्छन्, ‘मुटुको अप्रेसन गरेको बिरामीलाई भेरी अस्पताल लिएर आएको छु । दुई दिनदेखि जाँच भएको छैन । डाक्टरलाई भेट्न पाएको छैन ।’
अस्पतालभित्र रहेको इसिजी सेवा दुई दिनदेखि बन्द रहेको सेवा पाउन नसकेको जानकारी पाएको उनले बताए । उनी भने, ‘अस्पतालमा कोही कर्मचारी छैनन् । जिम्मेवार व्यक्तिलाई भन्दा पनि कसैले मतलब गरेनन् ।’
भेरी अस्पतालमा जन्मेका राप्ती सोनारी–५ बिनौनाका रवि रञ्जनका नवजात शिशुको स्वास्थ्य अवस्था कमजोर देखिएपछि डाक्टरले एनआइसियुुमा राख्न सल्लाह दिएका थिए । आमा प्रसूति कक्षमा थिइन् । तर अस्पतालमा एनआइसियु कक्ष भने खाली थिएन । भेरीमा जन्मिएका नवजात शिशुले उपचार नपाएपछि रञ्जनले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको एनआइसियुमा लगेर भर्ना गरे ।
अस्पतालमा ल्याबलगायतका अन्य कर्मचारी र डाक्टरले लापरबाही गर्नेलाई कारबाही गर्ने प्रक्रिया सुरु गरेको बताउँछन्, भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ । श्रेष्ठ भन्छन्, ‘भेरी अस्पतालमा आउने बिरामीले अस्पतालमा भएका सुविधा प्राप्त गर्नु पर्छ । कर्मचारी र डाक्टरका कारण बिरामीले दुख पाउनु हुन्न । अस्पतालमा भएका बेतिथीलाई हामीले कम गर्ने प्रयास गरेका छौं ।’
श्रेष्ठले थपे, ‘भेरी अस्पतालमा हरेक सेवासुविधा थपिँदै गएको छ तर कर्मचारीमा अनुशासन भएन । जसका कारण बिरामीले राम्ररी उपचार पाएका छैनन् । त्यो कुरा हामीले पनि देखेका छौं ।’
पश्चिम नेपालका धेरै बिरामीको रोजाइमा पर्ने गर्छ भेरी अस्पताल । अस्पतालको व्यवस्थापनलाई सुधार गर्न व्यवस्थापन समितिले प्रयास गरिरहेको छ । अस्पतालमा बिचौलियाको प्रवेशलाई रोक्ने अभियान पनि सुरु गरेको थियो । तर अस्पतालको व्यवस्थापन भने सुधार हुन सकेको छैन । अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर, नर्सहरुकोको लापरबाही र ढिलासुस्तीले धेरै बिरामी सेवा लिन आउँदा दुख पाएर निजी क्लिनिकमा जान बाध्य हुने गरेका छन् ।
भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले क्रमशः सेवासुविधामा थप्दै लगेको छ । अस्पतालको भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण थपिँदै गए त्यसको सहि सदुपयोग भने हुन सकेको छैन । अस्पतालमा उपलब्ध भएका अधिकांश प्रयोगशालाका उपकरण बिग्रेको बहाना बनाउँदै कर्मचारी पन्छने गरेका छन् । जसका कारण बिरामीले अस्पताल बाहिर गएर चर्को मूल्यमा ल्याब परीक्षण गर्नु पर्ने बाध्यता छ । त्यसलाई न प्रशासनले रोक्न सकेको छ न संचालक समितिले ।
अस्पतालको मुख्य समस्या हो कर्मचारीकै सेटिङमा प्रयोगशालाको मेसिन बिग्राने अनि बिरामी बाहिर पठाउने ।
अस्पतालका कर्मचारीको निजी अस्पताल, क्लिनिक तथा प्रयोगशालासँग सेटिङ हुन्छ । यसको प्रत्यक्ष मारमा सेवाग्राही परिरहेका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई अस्पतालले आफ्नो क्षमताअनुसार बिरामीको उपचार गरिरहेको बताउँछन् । उनी भन्छन, ‘बिरामीको चाप धेरै छ । एकैपटक धेरै बिरामी आउँदा सेवा दिन समस्या हुनु स्वाभाविक हो । अस्पतालले प्रदान गर्ने ओपिडिबाहेक अन्य सेवा २४ सै घण्टा खुला रहन्छ । बिरामीलाई जतिबेला आवश्यक पर्छ, त्यो बेला हाम्रा कर्मचारी उपस्थित हुन्छन् ।’