कक्षाकोठा भत्केपछि बार्दलीमा पढ्दै बालबालिका
Monday, August 1st, 2022, 2:55 pm
Kalpristha
ठुलीभेरी नगरपालिका वडा नम्बर ६ दुरगाउँमा रहेको हिमालय आधारभुत विद्यालयको कक्षा कोठा बाढीले भत्काएपछि बालबालिका बार्दली र खुल्ला चउरमा बसेर पढ्न बाध्य भएका छन् ।
गएको बिहीबार विद्यालयको पछाडि भागमा झ्यालबाट बाढी पसेर तीनवटा कक्षा कोठामा झ्याल पर्खाल भत्काई कक्षा कोठामा रहेका डेस्कवेन्च सबै पुर्दा पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।
कक्षा १ देखि कक्षा ५ सम्म पठनपाठन भैरहेको उक्त विद्यालयको कक्षा कोठाहरु बाढीले क्षेति पुर्याएपछि विद्यालयमा अध्ययनरत बालबालिका घाम लागेको समयमा खुल्ला चउरमा र पानी पर्दा विद्यालयको बाँकी रहेको बार्दलीमा बसेर पढ्ने गरेका छन् ।
विद्यालयको पछाडी भागमा भिरालो जमिन भएको कारण सबै ठाउँको पानी जम्मा भएर विद्यालयमा पसेको वडाअध्यक्ष तेजेन्द्र कार्कीले बताए । लगातारको बर्षाको कारण विद्यालयमा धेरै क्षेति पुर्याएको कार्कीले बताए । हाल सुरक्षित र सजग भएर बैकल्पिक माध्यमबाट पठनपाठन गर्न निर्देशन दिएको उनले बताए ।
तत्काल वडा कार्यालयबाट केहि समयको लागि सकिँदो सहयोग गर्ने तर विद्यालयमा ठूलो क्षेति भएको हुँदा नगरपालिकालगायत माथिल्लो निकायमा नयाँ भवनको लागि छिट्टै पहल गरिने अध्यक्ष कार्कीको भनाइ छ ।

भत्केको कक्षा कोठाहरु अवलोकन गर्दै सुरक्षाकर्मी ।